तीन वर्षभित्र आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना
मन्त्री लाम्सालका अनुसार ‘होम एन्ड अवे’ प्रणालीमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो । प्रस्तावित रंगशालामा कम्तीमा ८ हजार दर्शक अट्ने क्षमता र राति पनि खेल सञ्चालन गर्न मिल्ने फ्लडलाइटको व्यवस्था गरिनेछ ।
काठमाडौँ । सरकारले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।
मन्त्री लाम्सालका अनुसार ‘होम एन्ड अवे’ प्रणालीमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो । प्रस्तावित रंगशालामा कम्तीमा ८ हजार दर्शक अट्ने क्षमता र राति पनि खेल सञ्चालन गर्न मिल्ने फ्लडलाइटको व्यवस्था गरिनेछ ।
सरकारले तीन वर्षभित्र सबै आठ रंगशालाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको मन्त्री लाम्सालले बताएका छन् । यस योजनाले क्रिकेट प्रतियोगितालाई काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न शहरमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
रंगशाला निर्माणले नेपाली क्रिकेटको पूर्वाधार विकाससँगै खेलाडीलाई थप अवसर प्रदान गर्ने र स्थानीय स्तरमा क्रिकेटप्रतिको आकर्षण बढाउने विश्वास मन्त्री लाम्सालले व्यक्त गरेका छन् । उनले योजनाअनुसार आवश्यक तयारी अघि बढाउन नेपाल क्रिकेट संघ (क्यान) लाई समेत आग्रह गरेका छन् ।
यसैबीच, नेपाली क्रिकेटको पर्वका रूपमा हेरिएको एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिँदै मन्त्री लाम्सालले क्रिकेट पूर्वाधार विस्तारको योजना सार्वजनिक गरेका हुन् ।