आनी छोइङ डोल्माको नियुक्ति विरुद्ध माइतीघरमा प्रदर्शन

बौद्ध भिक्षुणी डोल्माले नागरिकता किर्ते गरेको तथा सम्पती शुद्धीकरणको मुद्दा विचाराधिन रहेको अवस्थामा सरकारले नियुक्त गरेको उनीहरुको आरोप छ ।

काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान)को नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमबार लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समिति तथा तामाङ नागरिक समाजको अगुवाइमा माईतीघर मण्डलामा प्रदर्शन गरिएको हो । बौद्ध भिक्षुणी डोल्माले नागरिकता किर्ते गरेको तथा सम्पती शुद्धीकरणको मुद्दा विचाराधिन रहेको अवस्थामा सरकारले नियुक्त गरेको उनीहरुको आरोप छ । प्रदर्शनकारीले लुम्बिनी विकास कोषको नेतृत्वमा अन्य समुदायले अवसर पाए पनि बौद्ध धर्मावलम्बीमध्ये ठूलो जनसंख्या रहेको तामाङ समुदायले अवसर नपाएको भन्दै यसपटक तामाङ समुदायबाटै नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले आनी छोइङ डोल्मा लाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनको नागरिकता र आर्थिक कारोबारसम्बन्धी विषयमा सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला नियुक्ति गरिएको भन्दै विरोध भएको हो ।