इन्स्टाग्राममा अब ९० मिनेटसम्मका भिडियो पोस्ट गर्न मिल्ने, कमाइको मोडल भने अनिश्चित

नयाँ सुविधामार्फत प्लेटफर्ममा लामो भिडियो सामग्रीलाई प्राथमिकता दिँदै युट्युबसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारिएको हो ।

एजेन्सी । छोटा भिडियोका लागि लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्रामले ९० मिनेटसम्मका लामा भिडियो पोस्ट गर्न मिल्ने सुविधा परीक्षण गर्न थालेको छ । नयाँ सुविधामार्फत प्लेटफर्ममा लामो भिडियो सामग्रीलाई प्राथमिकता दिँदै युट्युबसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारिएको हो ।

मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले ‘फिचर्ज’ नामक नयाँ फर्म्याटमार्फत क्रिएटरहरूलाई लामो भिडियो अपलोड गर्न दिने तयारी गरेको छ । यसबाट प्रयोगकर्ताले पूरा पडकास्ट, अन्तर्वार्ता, कमेडी शो तथा वृत्तचित्रजस्ता सामग्री तेर्सो ढाँचामा समेत हेर्न पाउनेछन् ।

यससँगै इन्स्टाग्रामले ‘क्लिप्स एज रिल्स’ नामक सुविधा पनि परीक्षण गरिरहेको छ । यसमार्फत क्रिएटरहरूले लामो भिडियोका आकर्षक अंशलाई छोटो रिल्सका रूपमा प्रस्तुत गरी दर्शकलाई पूरा भिडियोसम्म पुर्‍याउन सक्नेछन् ।

छोटा भिडियोबाट दर्शकको ध्यान आकर्षित गर्दै उनीहरूलाई लामो सामग्री हेर्न अन्य प्लेटफर्ममा जानुपर्ने बाध्यता हटाउने इन्स्टाग्रामको लक्ष्य देखिन्छ । यसअघि लामो भिडियोभन्दा छोटा भिडियोलाई प्राथमिकता दिँदै आएका इन्स्टाग्राम प्रमुख आदम मोसेरीले पनि आफ्नो रणनीतिमा परिवर्तन आएको संकेत गरेका छन् । ‘कोलिन एन्ड समिर’ शोमा बोल्दै उनले छोटा र लामा भिडियोबीच प्रभावकारी सम्बन्ध स्थापित गर्ने विषयमा काम भइरहेको बताएका थिए ।

इन्स्टाग्रामले स्मार्टफोनमा मात्र सीमित नरही टेलिभिजन एपमार्फत भिडियो हेर्ने अनुभव विस्तार गर्ने तयारीसमेत गरिरहेको छ ।

टेकक्रन्चका अनुसार यो सुविधा सुरुमा ब्राजिलका केही क्रिएटरमाझ परीक्षण गरिएको थियो । अहिले भने अमेरिकाका सीमित प्रयोगकर्तासम्म विस्तार गरिएको छ । अन्य देशका क्रिएटरले तत्कालै यो सुविधा प्रयोग गर्न पाउने अवस्था छैन ।

क्रिएटरको कमाइबारे अझै अन्योल

लामो भिडियोको सुविधा थपिए पनि यसबाट क्रिएटरले कसरी आम्दानी गर्न सक्छन् भन्ने विषय स्पष्ट भइसकेको छैन । युट्युबले आफ्नो पार्टनर प्रोग्रामअन्तर्गत नियमित भिडियोमा देखाइने विज्ञापनबाट प्राप्त खुद आम्दानीको ५५ प्रतिशत हिस्सा क्रिएटरलाई दिन्छ । यसले सामग्रीको प्रदर्शन र विज्ञापनबाट हुने आम्दानीका आधारमा क्रिएटरलाई कमाउने अवसर प्रदान गर्छ ।

तर, इन्स्टाग्राममा क्रिएटरहरू मुख्यतः ब्रान्डसँगको साझेदारी, सब्स्क्रिप्सन, गिफ्ट्स तथा सीमित प्रोत्साहन कार्यक्रमबाट हुने आम्दानीमा निर्भर छन् । नयाँ सुविधाअन्तर्गत ९० मिनेटसम्मका भिडियोमा विज्ञापन राख्ने र त्यसबाट प्राप्त रकम क्रिएटरसँग बाँड्ने योजना छ वा छैन भन्नेबारे कम्पनीले स्पष्ट पारेको छैन ।

मेटाका प्रवक्ताले लामो भिडियोका लागि आम्दानीको मोडल सार्वजनिक गर्न अहिले नै हतार हुने बताएका छन् । त्यसैले इन्स्टाग्राममा लामो भिडियो पोस्ट गर्दैमा युट्युबमा जस्तै आम्दानी सुनिश्चित हुने अवस्था छैन ।

इन्स्टाग्रामको यो कदमले लामो भिडियो सामग्रीको दर्शक र विज्ञापन बजारमा युट्युबसँग प्रतिस्पर्धा बढाउन सक्ने देखिन्छ । यद्यपि, भिडियो खोज्न सहज बनाउने प्रणाली र क्रिएटरका लागि स्थापित आम्दानी संरचनाका कारण युट्युब अझै पनि धेरै सामग्री निर्माताको प्राथमिक रोजाइमा छ ।

विश्लेषकहरूका अनुसार लामो भिडियो हेर्न मिल्ने सुविधा ल्याउनु मात्रै पर्याप्त हुँदैन । क्रिएटरलाई आफ्नो प्लेटफर्ममा आकर्षित गर्न इन्स्टाग्रामले पनि पारदर्शी र भरपर्दो आम्दानी बाँडफाँड प्रणाली विकास गर्नुपर्नेछ ।