नेपालका जलाशययुक्त आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आग्रह
नेपालमा जलविद्युत् उत्पादनको ठूलो सम्भावना भए पनि त्यसको उपयोग गर्न पर्याप्त लगानी, आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो
काठमाडौं । नेपालमा ठूला जलाशययुक्त जलविद्युत् आयोजना विकास गर्न लगानी, आधुनिक प्रविधि र प्राविधिक सहकार्य आवश्यक रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि आह्वान गरेको छ ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले क्यानडामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको जलविद्युत् क्षेत्रमा लगानी विस्तार, प्रविधि हस्तान्तरण र बाँध निर्माणसम्बन्धी अनुभव आदानप्रदान गर्न आग्रह गरेका हुन् । उनले नेपालमा तमोर, दूधकोशी, बूढीगण्डकी र माथिल्लो अरुणजस्ता ठूला आयोजना विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्ता, प्राविधिक विज्ञ र विकास साझेदारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।
क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन तथा व्यापार प्रदर्शनी २०२६ मा सहभागी हुन क्यानडा पुगेका डाँगीले बाँध इन्जिनियरिङ, जलाशययुक्त आयोजना निर्माण, जलविद्युत् प्रविधि र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने पूर्वाधार विकासमा क्यानडाको अनुभव नेपालका लागि उपयोगी हुने बताए ।
नेपालमा जलविद्युत् उत्पादनको ठूलो सम्भावना भए पनि त्यसको उपयोग गर्न पर्याप्त लगानी, आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । नेपालले जलविद्युत् उत्पादनका लागि प्राकृतिक स्रोत र विस्तार हुँदै गएको ऊर्जा बजार उपलब्ध गराउन सक्ने भएकाले नेपाल र क्यानडाबीच दीर्घकालीन तथा पारस्परिक लाभदायक साझेदारीको अवसर रहेको उनले उल्लेख गरे ।
डाँगीका अनुसार सन् १९९९ देखि जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुरु भएपछि नेपालको विद्युत् उत्पादन क्षमता उल्लेखनीय रूपमा बढेको छ । हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४.३ गिगावाट पुगेको र त्यसमा निजी क्षेत्रबाट विकास गरिएका आयोजनाको योगदान ८० प्रतिशतभन्दा बढी रहेको उनले बताए ।
सन् २००१ मा स्थापना भएको इप्पानले नेपालको ऊर्जा क्षेत्रमा निजी लगानी प्रवर्द्धन र जलविद्युत् आयोजना विकासका लागि काम गर्दै आएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालयले सन् २०१९ मा गरेको आकलनसहित विभिन्न अध्ययनले नेपालमा २०० गिगावाटभन्दा बढी जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना देखाएको डाँगीले उल्लेख गरे । नदी प्रवाहमा आधारित, पिकिङ रन अफ रिभर, जलाशययुक्त तथा पम्प्ड स्टोरेज आयोजना विकास गर्न सके नेपाल दक्षिण एसियाको स्वच्छ ऊर्जाको प्रमुख केन्द्र बन्न सक्ने उनको भनाइ थियो ।
नेपाल सरकारले सन् २०३५ सम्म विद्युत् उत्पादनको जडित क्षमता ३० हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न हालको क्षमतामा थप २४ हजार मेगावाटभन्दा बढी उत्पादन क्षमता विकास गर्नुपर्ने भन्दै डाँगीले निजी क्षेत्रको लगानी र अन्तर्राष्ट्रिय सहकार्य महत्त्वपूर्ण हुने बताए ।
विद्युत् उत्पादन क्षमता विस्तारले बढ्दो आन्तरिक माग पूरा गर्नुका साथै छिमेकी मुलुकमा विद्युत् निर्यात बढाउने अवसर सिर्जना गर्ने उनले बताए । तर, उत्पादन आयोजना निर्माणसँगै प्रसारण लाइन र अन्तरदेशीय विद्युत् व्यापारका पूर्वाधारसमेत विकास गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालले छिमेकी मुलुकमा १५ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्य राखेको जानकारी दिँदै उनले त्यसका लागि उत्पादन, प्रसारण र व्यापार पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए ।
डाँगीले नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्राविधिक सहकार्यको सम्भावना भएका प्रमुख आयोजनाका रूपमा तमोर, दूधकोशी, बूढीगण्डकी र माथिल्लो अरुणको चर्चा गरे ।
उनका अनुसार तमोर जलाशययुक्त आयोजनाको क्षमता ७६२ मेगावाट, दूधकोशीको ६७० मेगावाट, बूढीगण्डकीको १२०० मेगावाट र माथिल्लो अरुणको १०६० मेगावाट छ ।
यी आयोजनासहित विकासका विभिन्न चरणमा रहेका अन्य आयोजनामा वित्त व्यवस्थापन, इन्जिनियरिङ, निर्माण, बाँध सुरक्षासम्बन्धी प्रविधि र ऊर्जा भण्डारणका क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको उनले बताए । उनले लगानीकर्तासँगै आयोजना विकासकर्ता, प्राविधिक विज्ञ र अन्तर्राष्ट्रिय संस्थालाई नेपालमा सहकार्य गर्न आग्रह गरे ।
अनुसन्धान, प्रविधि हस्तान्तरण, व्यावसायिक तालिम तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने पूर्वाधार निर्माणमा पनि सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।
नेपालको ९८ प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत्को पहुँच पुगेको उल्लेख गर्दै डाँगीले जलविद्युत्ले आर्थिक वृद्धि, रोजगारी सिर्जना, जनजीवनको गुणस्तर सुधार र स्वच्छ ऊर्जा व्यापार विस्तारमा योगदान पुर्याइरहेको बताए ।
जलवायु परिवर्तनका कारण जलविद्युत् आयोजनामा उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षित, दिगो र जलवायु उत्थानशील पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनले बताए । क्षेत्रीय सहकार्य सुदृढ गर्न सके नेपालले दक्षिण एसियामा स्वच्छ विद्युत् आपूर्तिको महत्त्वपूर्ण स्रोतका रूपमा आफ्नो भूमिका विस्तार गर्न सक्ने उनको भनाइ थियो ।
क्यानडा ड्याम एसोसिएसनले ‘टाइड्स अफ चेन्ज’ अर्थात् परिवर्तनका लहरहरू भन्ने मूल विषयमा आयोजना गरेको सम्मेलनले बाँध सुरक्षा, जलवायु उत्थानशीलता र दिगो जलविद्युत् विकासका क्षेत्रमा ज्ञान, अनुभव तथा प्रविधि आदानप्रदान गर्न सहयोग पुर्याउने डाँगीले बताए ।
कार्यक्रममा इप्पानको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कार्यक्रम व्यवस्थापन समितिका संयोजक आनन्द चौधरीले नेपालको जलविद्युत् सम्भावना, हालैको भोटेकोशी बाढीबाट प्राप्त पाठ तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे प्रस्तुति दिने कार्यक्रम रहेको इप्पानले जनाएको छ ।