बैंकिङ प्रणालीबाट थप १ खर्ब ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन् ।
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज कात्तिक १२ गते १ खर्ब ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ८ दिने निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले राख्न चाहेको रकम र माग गरेको ब्याजदर उल्लेख गरी बोल पेस गर्नुपर्नेछ । यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन् ।
निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर माग गर्ने बोलपत्रलाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि क्रमशः बढी ब्याजदरका बोलपत्रलाई आह्वान गरिएको रकम पूरा नहुँदासम्म बाँडफाँट गरिनेछ । समान ब्याजदरमा माग गरिएको रकम आह्वान गरिएको सीमाभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिनेछ । स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी छुट्टै निक्षेप खातामा जम्मा गरिनेछ । निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक २० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । अवधि पूरा हुनुअघि भने निक्षेप फिर्ता लिन वा समयअगावै भुक्तानी गर्न पाइने छैन ।
राष्ट्र बैंकका अनुसार यस उपकरणमा राखिएको रकमलाई बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन । तर, अनिवार्य तरलता अनुपात र वैधानिक तरलता अनुपात कायम गर्ने प्रयोजनमा भने गणना गर्न सकिनेछ । बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी रकम थुप्रिँदा त्यसको व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ ।