चाडपर्वमा ईभी आयातको चाप, तीन महिनामा १५ अर्बको गाडी भित्रियो
साउन र भदौमा गरी २ हजार ८३४ वटा ईभी आयात भएकामा असोजमा मात्रै ३ हजार ८०२ वटा भित्रिएका हुन् ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ६ हजार ६३६ वटा विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन् । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा गरी २ हजार ८३४ वटा ईभी आयात भएकामा असोजमा मात्रै ३ हजार ८०२ वटा भित्रिएका हुन् । यसले दसैँ–तिहार लक्षित माग र चीनसँग जोडिएका नाकामा आएको अवरोधका कारण असोजमा ईभी आयात उल्लेख्य बढेको देखाउँछ ।
तीन महिनाको अवधिमा ईभी आयातका लागि १५ अर्ब ३ करोड रुपैयाँ बाहिरिएको छ । यसबाट सरकारले ९ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आयात भएका सवारीसाधनको संख्याका आधारमा असोजमा मात्रै पहिलो दुई महिनाको तुलनामा बढी ईभी नेपाल भित्रिएका छन् ।
तथ्यांकअनुसार पछिल्लो तीन महिनामा चीनबाट सबैभन्दा धेरै ईभी आयात भएका छन् । चीनबाट ११ अर्ब १० करोड रुपैयाँ बराबरका ४ हजार ८२० वटा ईभी भित्रिएका छन् । त्यस्तै, भारतबाट २ अर्ब ८० करोड रुपैयाँभन्दा बढी मूल्यका १ हजार ४२० वटा ईभी आयात भएका छन् ।
यसैगरी, थाइल्यान्डबाट १ अर्ब १२ करोड रुपैयाँ बराबरका ३९३ वटा र अमेरिकाबाट ७८ लाख रुपैयाँका दुई वटा ईभी आयात भएका छन् ।
पहिलो दुई महिनाको तुलनामा असोजमा ईभी आयात बढ्नुको प्रमुख कारण चाडपर्व लक्षित बजार माग रहेको व्यवसायीहरू बताउँछन् । यस वर्ष दसैँ कात्तिकमा परेकाले चाडपर्वमा ग्राहकलाई सवारीसाधन हस्तान्तरण गर्न व्यवसायीहरूले असोजमै ठूलो संख्यामा गाडी आयात गरेका हुन् ।
नाडा अटो शोमा बुकिङ भएका सवारीसाधन दसैँ र तिहारमा ग्राहकलाई हस्तान्तरण गर्ने चलन छ । अटो शोमा बुकिङ भएका गाडीको माग पूरा गर्न व्यवसायीहरूले असोजमा आयात बढाएको उनीहरूको भनाइ छ ।
ईभी आयात बढ्नुको अर्को कारण चीनसँग जोडिएका नाकामा भएको अवरोध पनि हो । भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवा नाका बन्द भएको थियो । त्यसलगत्तै तातोपानी नाकाबाट हुने आवागमनसमेत प्रभावित भएपछि व्यवसायीहरूले केही समय चीनबाट सवारीसाधन आयात गर्न सकेनन् ।
रसुवा र तातोपानी नाकाबाट आयात रोकिएपछि व्यवसायीहरूले मुस्ताङस्थित कोरला नाकाको विकल्प प्रयोग गर्न थाले । नाका अवरोधका कारण भदौमै आयात गर्ने तयारी गरिएका कतिपय गाडी असोजमा मात्रै नेपाल भित्र्याउनुपरेको व्यवसायीहरूको भनाइ छ ।
यसरी चाडपर्वमा ग्राहकलाई गाडी हस्तान्तरण गर्नुपर्ने दबाब र चीनसँगका प्रमुख व्यापारिक नाकामा भएको अवरोधको संयुक्त प्रभावले असोजमा ईभी आयात बढाएको देखिन्छ ।