नेप्से बढ्ने क्रम जारी, कारोबार रकम करिब साढे ६ महिनायताकै उच्च
आज नेप्से परिसूचक ३१.५४ अंक बढेर २६९५.६० विन्दुमा पुगेको छ ।
काठमाडौं । बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर बन्द भएको सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से) ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ३१.५४ अंक बढेर २६९५.६० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ ।
नेप्सेसँगै आ कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । आजको कारोबार रकम करिब साढे छ महिनायताकै उच्च हो । यस अघि गत बैशाख ३ गते नेप्सेमा करिब साढे ९ अर्बको सेयर खरिदबिक्री भएको थियो ।
बेनी हाइड्रोपावरको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, आज सोपान फर्मास्यूटिकल्सको सेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमूल्य आज ३.६५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको करिब साढे २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ्ग र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
बिहिबार कारोबारमा आएका मध्य १८१ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।