टिकटकर तुलसा अधिकारीलाई थुनामा राख्ने आदेश उच्चबाट सदर
अधिकारीविरुद्ध दायर मुद्दामा २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ ।
काठमाडौं । व्यवसायी तथा टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ । उच्च अदालतले अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गर्दै जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको हो ।
बिहीबार न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको इजलासले अधिकारीको निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश परिवर्तन गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो । यससँगै अधिकारीले मुद्दाको अन्तिम फैसला नआएसम्म थुनामै रहेर मुद्दाको प्रतिरक्षा गर्नुपर्ने भएको छ ।
अधिकारीले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन् । तर, उच्च अदालतले उनको मागअनुसार आदेश परिवर्तन गर्न अस्वीकार गरेको छ ।
अधिकारीविरुद्ध दायर मुद्दामा २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ । उनीमाथि आपराधिक लाभ लिएको, हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत तथा स्थान परिवर्तन गरेको र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको अभियोग लगाइएको छ ।
मुद्दामा हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत र स्थान परिवर्तन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपसमेत समावेश छ । यसका अतिरिक्त आपराधिक लाभ तथा संगठित अपराधमा संलग्न रहेको अभियोग पनि उनीमाथि लगाइएको छ । अधिकारीविरुद्ध लगाइएका अभियोगसँग सम्बन्धित बिगो रकम २१ करोड रुपैयाँभन्दा बढी रहेको छ ।