ब्याज आम्दानी घट्दा पनि कुमारी बैंकको नाफा बढ्यो, यस्तो छ वित्तीय अवस्था

गत वर्ष १२९.६३ प्रतिशत रहेको यस्तो अनुपात समीक्षा अवधिमा घटेर ९१.६६ प्रतिशतमा झरेको छ । यसले बैंकको कर्जा जोखिम व्यवस्थापनमा थप चुनौती देखिएको संकेत गर्छ ।

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफामा सामान्य वृद्धि गरेको छ । खुद ब्याज आम्दानीमा उल्लेख्य गिरावट आए पनि कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याउनुपर्ने रकम घट्दा बैंकको नाफा बढेको हो ।

बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले १ अर्ब ७ करोड ४५ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा १.७० प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको नाफा बढाउन कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याइने रकममा आएको ठूलो गिरावटले मुख्य भूमिका खेलेको छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६४.४० प्रतिशतले घटेर ४४ करोड ९९ लाख ५४ हजार रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब २६ करोड ४१ लाख ७ हजार रुपैयाँ थियो । यसरी इम्पेयरमेन्ट चार्जमा ८१ करोड ४१ लाख रुपैयाँको कमी आएको छ ।

इम्पेयरमेन्ट चार्जमा आएको कमीका कारण खुद ब्याज आम्दानी खुम्चिए पनि बैंकको सञ्चालन मुनाफा भने ३२.४० प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ । यसले बैंकको खुद नाफा बढाउन सहयोग गरेको देखिन्छ ।

तर, बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने उल्लेख्य गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ९१ करोड २० लाख ५० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा २८.१९ प्रतिशतले घटेर २ अर्ब ९ करोड १२ लाख ८२ हजार रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ७ अर्ब ३३ करोड ६१ लाख रुपैयाँबाट घटेर ६ अर्ब १८ करोड ५९ लाख रुपैयाँमा झरेको छ । ब्याज खर्च पनि ४ अर्ब ४२ करोड ४० लाख रुपैयाँबाट घटेर ४ अर्ब ९ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । ब्याज आम्दानीको तुलनामा ब्याज खर्च कम घट्दा खुद ब्याज आम्दानीमा दबाब परेको देखिन्छ ।

गैरब्याज आम्दानीतर्फ भने बैंकले केही सुधार गरेको छ । खुद फि तथा कमिसन आम्दानी ३.९० प्रतिशतले बढेर ८८ करोड २३ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ८४ करोड ९१ लाख ९६ हजार रुपैयाँ थियो । यसैगरी, खुद ट्रेडिङ आम्दानी २५ करोड ७१ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी ४४ करोड ११ लाख रुपैयाँ रहेको छ ।

व्यवसाय विस्तारतर्फ बैंकले निक्षेप र कर्जा दुवै बढाएको छ । गत असार मसान्तको तुलनामा असोज मसान्तसम्म बैंकको ग्राहक निक्षेप ६.३६ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब ३४ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा बैंकको निक्षेप ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ थियो ।

त्यस्तै, बैंकको कर्जा प्रवाह ७.६८ प्रतिशतले बढेर २ खर्ब ९३ अर्ब ९ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो कर्जा २ खर्ब ७२ अर्ब २० करोड २३ लाख रुपैयाँ थियो । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.७१ प्रतिशत कायम भएको छ ।

व्यवसाय विस्तार र नाफा वृद्धिका बाबजुद बैंकको कर्जाको गुणस्तरमा भने दबाब देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.९८ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात चालु आवको सोही अवधिमा बढेर ८.७२ प्रतिशत पुगेको छ । खुद निष्क्रिय कर्जा अनुपात पनि १.५६ प्रतिशतबाट बढेर २.१७ प्रतिशत कायम भएको छ ।

खराब कर्जा बढेसँगै कर्जा नोक्सानी व्यवस्थाको कभरेज अनुपातसमेत घटेको छ । गत वर्ष १२९.६३ प्रतिशत रहेको यस्तो अनुपात समीक्षा अवधिमा घटेर ९१.६६ प्रतिशतमा झरेको छ । यसले बैंकको कर्जा जोखिम व्यवस्थापनमा थप चुनौती देखिएको संकेत गर्छ ।

घट्दो ब्याजदरको प्रभाव बैंकका लागत तथा ब्याजसम्बन्धी सूचकमा पनि देखिएको छ । बैंकको कोषको लागत ४.२९ प्रतिशतबाट घटेर ३.४३ प्रतिशतमा झरेको छ भने आधार दर ५.८२ प्रतिशतबाट घटेर ४.८० प्रतिशत कायम भएको छ । औसत ब्याजदर अन्तर पनि ३.५३ प्रतिशतबाट घटेर ३.०३ प्रतिशतमा सीमित भएको छ ।

नाफामा सामान्य सुधार भए पनि बैंकको प्रतिफलसम्बन्धी सूचकमा मिश्रित अवस्था देखिएको छ । वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ११ पैसाबाट बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ । तर, सेयरधनीको पुँजीमा प्रतिफल (आरओई) ११.१० प्रतिशतबाट घटेर ९.५१ प्रतिशत र सम्पत्तिमा प्रतिफल (आरओए) ०.९६ प्रतिशतबाट घटेर ०.८२ प्रतिशतमा झरेको छ ।

बैंकको बजारमा प्रतिसेयर मूल्य २३८ रुपैयाँ ४० पैसा रहँदा मूल्य आम्दानी अनुपात १४.५५ गुणा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३१ पैसा रहेको छ ।

हाल २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको पुँजी पर्याप्तता अनुपात १२.६७ प्रतिशत र तरलता अनुपात ३५.४९ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १४ करोड ७१ लाख रुपैयाँ रहेको छ ।