हिमालयन बैंकको नाफामा गिरावट, निष्क्रिय कर्जा ७.९८ प्रतिशत पुग्यो

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा आएको गिरावटले नाफा प्रभावित भएको हो ।

काठमाडौं । हिमालयन बैंकको खुद नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा घटेको छ । बैंकले असोज मसान्तसम्म ६५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.८४ प्रतिशत कम हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ७० करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा आएको गिरावटले नाफा प्रभावित भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.३० प्रतिशतले घटेर २ अर्ब १९ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी घटे पनि कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको रकम भने कम भएको छ । गत वर्ष ५७ करोड ८९ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालू आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर ३५ करोड ३१ लाख रुपैयाँमा झरेको छ ।

बैंकको सञ्चालन नाफा पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालू आर्थिक वर्षमा घटेर १ अर्ब ५४ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको खराब कर्जाको अनुपात भने बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ७.३९ प्रतिशत रहेको निष्क्रिय कर्जा चालू आर्थिक वर्षको सोही अवधिमा बढेर ७.९८ प्रतिशत पुगेको छ ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। गत वर्ष १२ रुपैयाँ ४५ पैसा रहेको प्रतिसेयर आम्दानी चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ११ रुपैयाँ ६० पैसामा सीमित भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ४२ पैसा कायम भएको छ ।