नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा २६ गुणाभन्दा बढीले बढ्यो
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६०.८१ प्रतिशतले घटेर १ अर्ब ९ करोड ७३ लाख ९३ हजार रुपैयाँमा झरेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो रकम २ अर्ब ८० करोड ४ लाख ३१ हजार रुपैयाँ थियो ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य बढाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ४ करोड ५० लाख ५० हजार रुपैयाँ मात्रै थियो ।
बैंकको नाफामा भएको उच्च वृद्धिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकममा आएको कमीले मुख्य भूमिका खेलेको देखिन्छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६०.८१ प्रतिशतले घटेर १ अर्ब ९ करोड ७३ लाख ९३ हजार रुपैयाँमा झरेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो रकम २ अर्ब ८० करोड ४ लाख ३१ हजार रुपैयाँ थियो ।
यस अवधिमा बैंकको सञ्चालन मुनाफा पनि उल्लेख्य बढेको छ। गत वर्ष १ अर्ब ५१ करोड २ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा चालू आवमा बढेर ३ अर्ब २५ करोड २० लाख रुपैयाँ पुगेको छ । बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने सामान्य सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ रहेको यस्तो आम्दानी ०.८८ प्रतिशतले बढेर चालू आवमा ३ अर्ब २७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
बैंकको ब्याज आम्दानी भने ८ अर्ब ३४ करोड ३ लाख रुपैयाँबाट घटेर ७ अर्ब ४१ करोड ७१ लाख रुपैयाँमा झरेको छ। यसैगरी ब्याज खर्च पनि घटेर ४ अर्ब १४ करोड ५४ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यस्तो खर्च ५ अर्ब ९ करोड ७१ लाख रुपैयाँ थियो ।
गैरब्याज आम्दानीतर्फ बैंकको खुद फि तथा कमिसन आम्दानी ४.८२ प्रतिशतले बढेर ५९ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ५६ करोड ४८ लाख रुपैयाँ थियो । बैंकको खुद ट्रेडिङ आम्दानी ३१ करोड २९ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी १७ करोड २७ लाख रुपैयाँ रहेको छ ।
व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप र कर्जा प्रवाह दुवैमा सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालू आवको पहिलो तीन महिनामा निक्षेप २.६९ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा प्रवाह ०.३३ प्रतिशतले वृद्धि भई ३ खर्ब २२ अर्ब ४१ करोड २० लाख रुपैयाँ कायम भएको छ ।
नाफामा उल्लेख्य सुधार भए पनि बैंकको खराब कर्जा अनुपात भने बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ६.६३ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा चालू आवको सोही अवधिमा बढेर ८.८७ प्रतिशत पुगेको छ । तर, खुद निष्क्रिय कर्जा अनुपात भने १.४६ प्रतिशतबाट घटेर १.३७ प्रतिशतमा झरेको छ । निष्क्रिय कर्जाका लागि गरिएको नोक्सानी व्यवस्थाको कभरेज अनुपात पनि सामान्य बढेर १०१.६० प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा बैंकको कोषको लागत ३.९२ प्रतिशतबाट घटेर ३.०७ प्रतिशतमा झरेको छ । त्यस्तै, औसत आधार दर ५.६९ प्रतिशतबाट घटेर ४.५१ प्रतिशत र औसत ब्याजदर अन्तर ३.४४ प्रतिशतबाट घटेर ३ प्रतिशत कायम भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात ६६.७३ प्रतिशत रहेको छ ।
नाफा बढेसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि ५३ पैसाबाट बढेर १३ रुपैयाँ ८५ पैसा पुगेको छ । यसैगरी, पुँजीमा प्रतिफल ०.२७ प्रतिशतबाट बढेर ६.९५ प्रतिशत र सम्पत्तिमा प्रतिफल ०.०३ प्रतिशतबाट बढेर ०.७६ प्रतिशत कायम भएको छ ।
हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ८८ पैसा र पुँजी पर्याप्तता अनुपात १२.१७ प्रतिशत कायम भएको छ । असोज मसान्तसम्म बैंकको खुद तरल सम्पत्ति तथा निक्षेप अनुपात ४२.६७ प्रतिशत रहेको छ। यद्यपि, बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड १६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।