गरिमा विकास बैंकको नाफा घट्यो, खराब कर्जा बढेर ४.८१ प्रतिशत पुग्यो

बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी घट्दा नाफामा दबाब परेको हो । यद्यपि, कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घट्नु र फि तथा कमिसन आम्दानी बढ्नुले नाफामा थप गिरावट हुनबाट जोगाएको छ ।

काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशत कम हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले २५ करोड ५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी घट्दा नाफामा दबाब परेको हो । यद्यपि, कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घट्नु र फि तथा कमिसन आम्दानी बढ्नुले नाफामा थप गिरावट हुनबाट जोगाएको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७९ प्रतिशतले घटेर ९२ करोड ८ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९९ करोड ८५ लाख ९४ हजार रुपैयाँ थियो ।

बैंकको ब्याज आम्दानी ११.२८ प्रतिशतले घटेर १ अर्ब ८२ करोड १७ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ५ करोड ३३ लाख रुपैयाँ थियो । ब्याज खर्च पनि १४.५९ प्रतिशतले घटेर ९० करोड ९ लाख रुपैयाँमा झरेको छ ।

अर्कोतर्फ, खुद फि तथा कमिसन आम्दानी भने ३३.३१ प्रतिशतले बढेर १५ करोड २४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ११ करोड ४३ लाख ८९ हजार रुपैयाँ थियो । बैंकले खुद ट्रेडिङ आम्दानीबाट ५८ लाख ८५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकममा पनि उल्लेख्य कमी आएको छ। इम्पेयरमेन्ट चार्ज २३.६८ प्रतिशतले घटेर २५ करोड ४२ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम ३३ करोड ३१ लाख ९३ हजार रुपैयाँ थियो ।

यद्यपि, आम्दानीका अन्य स्रोतमा आएको संकुचनका कारण बैंकको सञ्चालन मुनाफा ४.३४ प्रतिशतले घटेर ३४ करोड २१ लाख रुपैयाँमा झरेको छ । गत वर्षको पहिलो त्रैमासमा सञ्चालन मुनाफा ३५ करोड ७६ लाख २४ हजार रुपैयाँ थियो ।

व्यवसाय विस्तारतर्फ भने बैंकको निक्षेप र कर्जा दुवै बढेका छन् । गत असार मसान्तको तुलनामा पहिलो तीन महिनामा ग्राहक निक्षेप ३.११ प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ५३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत असारमा यस्तो निक्षेप ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ थियो ।

त्यस्तै, बैंकको कर्जा प्रवाह २.५७ प्रतिशतले बढेर ८० अर्ब २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो असार मसान्तमा बैंकको कर्जा प्रवाह ७८ अर्ब २१ करोड ५६ लाख रुपैयाँ थियो ।

तर, कर्जाको गुणस्तरमा भने केही दबाब देखिएको छ। बैंकको निष्क्रिय कर्जा अनुपात (एनपीएल) गत वर्षको पहिलो त्रैमासको ४.७३ प्रतिशतबाट बढेर चालु आवको सोही अवधिमा ४.८१ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जाको अनुपात बढेसँगै कर्जा नोक्सानी व्यवस्थाको कभरेज पनि १२०.७२ प्रतिशतबाट घटेर १०४.०९ प्रतिशतमा झरेको छ ।

यसैबीच, बैंकको निक्षेप लागत घटेर ३.४६ प्रतिशतमा आएको छ । गत वर्ष यस्तो लागत ४.४२ प्रतिशत थियो । आधार दर ६.३९ प्रतिशतबाट घटेर ५.१८ प्रतिशत र स्प्रेड दर ४.५९ प्रतिशतबाट घटेर ४.०५ प्रतिशत कायम भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८४.१८ प्रतिशत रहेको छ ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। वार्षिकीकृत ईपीएस गत वर्षको १७ रुपैयाँ ६४ पैसाबाट घटेर १४ रुपैयाँ ५० पैसामा सीमित भएको छ । त्यस्तै, स्वपुँजीमा प्रतिफल (आरओई) १०.७१ प्रतिशतबाट घटेर ९.१५ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल (आरओए) ०.९६ प्रतिशतबाट घटेर ०.८४ प्रतिशतमा झरेको छ ।

चालु आवको पहिलो त्रैमाससम्म बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ६८ पैसा, पुँजी पर्याप्तता अनुपात १२.८४ प्रतिशत र तरलता अनुपात २५.९१ प्रतिशत रहेको बैंकले जनाएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८ करोड ३२ लाख ७८ हजार रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर अन्तिम कारोबार मूल्य ४१५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २८.६२ गुणा कायम भएको छ ।