ब्याज र सञ्चालन आम्दानी घट्दा सांग्रिला बैंकको नाफामा ठूलो संकुचन
बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार तीन महिनामा ३ करोड ३४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ८ करोड ८२ लाख ११ हजार रुपैयाँ थियो ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६२.०७ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार तीन महिनामा ३ करोड ३४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ८ करोड ८२ लाख ११ हजार रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानीमा आएको गिरावट, अन्य सञ्चालन आम्दानीमा भएको ठूलो संकुचन र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम उच्च रहँदा नाफा प्रभावित भएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१५ प्रतिशतले घटेर ५० करोड ९८ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ५४ करोड ९१ लाख १६ हजार रुपैयाँ थियो ।
यस अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब २१ करोड ६८ लाख रुपैयाँबाट घटेर १ अर्ब २ करोड ६६ लाख रुपैयाँमा झरेको छ । ब्याज खर्च पनि घटेर ५१ करोड ६७ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा बैंकको ब्याज खर्च ६६ करोड ७६ लाख रुपैयाँ थियो ।
गैरब्याज आम्दानीतर्फ खुद फि तथा कमिसन आम्दानी भने ४.७८ प्रतिशतले बढेर ६ करोड ३३ लाख ३७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी ६ करोड ४ लाख ४७ हजार रुपैयाँ थियो । तर, बैंकको अन्य सञ्चालन आम्दानी ९२.७४ प्रतिशतले घटेर ३० लाख ५० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ४ करोड २० लाख रुपैयाँ थियो ।
बैंकले कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याएको रकममा सामान्य कमी आए पनि त्यसले नाफामा अपेक्षित सुधार ल्याउन सकेन । इम्पेयरमेन्ट चार्ज ६.११ प्रतिशतले घटेर २१ करोड ५६ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम २२ करोड ९६ लाख ७० हजार रुपैयाँ थियो ।
आम्दानीका स्रोत खुम्चिएपछि बैंकको सञ्चालन मुनाफा पनि ५७.६२ प्रतिशतले घटेर ५ करोड ३१ लाख ३८ हजार रुपैयाँमा झरेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले १२ करोड ५३ लाख ८७ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो ।
व्यवसाय विस्तारमा भने बैंकले सामान्य प्रगति गरेको छ । गत असार मसान्तको तुलनामा पहिलो तीन महिनामा ग्राहक निक्षेप १.८२ प्रतिशतले बढेर ५७ अर्ब ९५ करोड ६३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो असार मसान्तमा बैंकको निक्षेप ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ थियो ।
त्यस्तै, बैंकको कर्जा प्रवाह २.९७ प्रतिशतले बढेर ४७ अर्ब ९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो कर्जा ४५ अर्ब ७३ करोड ९२ लाख रुपैयाँ थियो ।
तर, बैंकको कर्जाको गुणस्तरमा दबाब बढेको देखिन्छ। गत वर्षको पहिलो त्रैमासमा ६.८६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आवको सोही अवधिमा बढेर ७.६४ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा बढेसँगै कर्जा नोक्सानी व्यवस्थाको कभरेज पनि ७६.२१ प्रतिशतबाट घटेर ६८.७३ प्रतिशतमा सीमित भएको छ ।
बैंकको निक्षेप लागत ४.४९ प्रतिशतबाट घटेर ३.४४ प्रतिशतमा आएको छ । त्यस्तै, आधार दर ६.५४ प्रतिशतबाट घटेर ५.६२ प्रतिशत र स्प्रेड दर ४.५८ प्रतिशतबाट घटेर ४.१४ प्रतिशत कायम भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३.८७ प्रतिशत रहेको छ ।
नाफामा आएको गिरावटको असर बैंकको प्रतिसेयर आम्दानीमा पनि देखिएको छ । वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्षको ९ रुपैयाँ ९२ पैसाबाट घटेर ३ रुपैयाँ ४५ पैसामा झरेको छ । त्यस्तै, स्वपुँजीमा प्रतिफल (आरओई) ६.३१ प्रतिशतबाट घटेर २.१९ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल (आरओए) ०.५६ प्रतिशतबाट घटेर ०.२० प्रतिशतमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७१ पैसा, पुँजी पर्याप्तता अनुपात १३.३४ प्रतिशत र तरलता अनुपात २४.८७ प्रतिशत कायम भएको छ ।
बैंकको अन्तिम सेयर कारोबार मूल्य ४२२ रुपैयाँ ५० पैसा रहँदा मूल्य आम्दानी अनुपात १२२.४६ गुणा रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने १ करोड ३२ लाख ७३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।