बैंकमा तरलता थुप्रिए पनि लगानी बढेन, अर्थतन्त्रमा विश्वासको संकट छ: गगन

बैंकहरूमा पर्याप्त तरलता थुप्रिए पनि कर्जा प्रवाह नहुनु, विश्व बैंकको तथ्यांकअनुसार बैंकिङ क्षेत्रमा ऋण असुलीको चर्को दबाब पर्नु र आन्तरिक तथा बाह्य लगानी खुम्चिनु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ ।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको अर्थतन्त्र अत्यन्तै जटिल अवस्थामा पुगेको औँल्याउँदै सरकारले डर र त्रास देखाउनुको सट्टा विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आइतबार बोल्दै उनले आर्थिक सुधार र कानून निर्माणका लागि प्रमुख प्रतिपक्षी दल संसदमा चौबीसै घण्टा काम गर्न तयार रहेको स्पष्ट पारेका हुन् । 

थापाले वर्तमान समयमा मुलुकको पहिलो प्राथमिकता र चुनौती अर्थतन्त्र नै भएको उल्लेख गरे । बैंकहरूमा पर्याप्त तरलता थुप्रिए पनि कर्जा प्रवाह नहुनु, विश्व बैंकको तथ्यांकअनुसार बैंकिङ क्षेत्रमा ऋण असुलीको चर्को दबाब पर्नु र आन्तरिक तथा बाह्य लगानी खुम्चिनु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ । 

पछिल्लो समय प्राकृतिक विपत्ति र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण सरकारी ढुकुटी दबाबमा परेको र महँगी अचाक्ली बढेको विश्लेषण गर्दै उनले सरकारले वास्तविक समस्या पहिचान गर्न नसकेको टिप्पणी गरे । सरकारले सस्तो प्रचार र सामाजिक सञ्जालको वाहवाहीमा समय खेर फालेको आरोप लगाउँदै उनले अर्थतन्त्र सुधार्न अध्यादेशको बाटो रोज्न नपर्ने उल्लेख गरे । प्रमुख प्रतिपक्षी दल जिम्मेवार ढंगले उभिन तयार रहेको जनाए । उनले नेतृत्वले स्टन्टबाजी छाडेर जनता र व्यवसायीमा आत्मविश्वास जगाउने ठोस योजना अघि सार्नुपर्ने माग गरे ।