भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा महामारी देखिएको छैन: स्वास्थ्य सेवा विभाग
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।
काठमाडौं । स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी बाढी प्रभावित क्षेत्रमा हालसम्म कुनै पनि महामारी नदेखिएको जनाएको छ । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी, आकस्मिक उपचार तथा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेका छन् । हाल १४ वटा होल्डिङ सेन्टरमार्फत २१ हजार ३९१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । त्यस्तै, आकस्मिक चिकित्सा टोली तथा स्वास्थ्य शिविरमार्फत ९ हजार ५६४ जनाले उपचार सेवा पाएका छन् ।
बाढी प्रभावित रसुवाका ९ हजार ३६८ जनालाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको पनि पौडेलले बताए । यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट १३९ जना मानसिक स्वास्थ्य जनशक्ति परिचालन गरिएको छ । परामर्श लिएका कतिपय प्रभावितलाई औषधोपचारसमेत आवश्यक देखिएको उनले जानकारी दिए ।
पानीको गुणस्तर परीक्षणका क्रममा संकलन गरिएका १५ नमुनामध्ये पाँच वटामा दिसामा पाइने जीवाणु भेटिएको विभागले जनाएको छ । त्यसपछि पानीलाई क्लोरिनेसन गरी शुद्धीकरण गर्ने अभियान सञ्चालन गरिएको पौडेलले बताए । दूषित पानीका कारण हैजा फैलिन सक्ने जोखिम नियन्त्रण गर्न रसुवाका २१ हजार ६०० र नुवाकोटका ८० हजार ५२३ गरी करिब एक लाख दुई हजार जनालाई मुखबाट खुवाइने हैजाविरुद्धको खोप प्रदान गरिएको उनले जानकारी दिए ।
रोगको सम्भावित प्रकोप पहिचान तथा नियन्त्रणका लागि सात वटा निगरानी टोली परिचालन गरिएको छ । अर्ली वार्निङ रेस्पोन्स सिस्टम र इभेन्ट बेस्ड सर्भिलेन्स सिस्टममार्फत दैनिक प्रतिवेदन संकलन भइरहेको विभागले जनाएको छ ।
पौडेलका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रमा ४४८ जनामा रुघाखोकी तथा ज्वरोको समस्या देखिएको छ । त्यसमध्ये ३०१ जनामा ज्वरो र ८७ जनामा झाडापखाला देखिएको थियो । उनीहरू सबैले उपचार पाइसकेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले बताए । स्वास्थ्य निगरानी र उपचारका कार्यक्रमलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै पौडेलले हालसम्म बाढी प्रभावित क्षेत्रमा महामारीको अवस्था नरहेको स्पष्ट पारे ।