भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे
दाजुभाइ पश्चिम फर्कने, दिदीबहिनीहरूले पूर्व फर्केर टीका लगाइदिने समितिले जनाएको छ ।
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिहारको शुभसाइत सार्वजनिक गरेको छ । कात्तिक २५ गते बिहान ११ः०७ बजे भाइटीकाको शुभसाइत रहेको समितिले जनाएको छ । दाजुभाइ पश्चिम फर्कने, दिदीबहिनीहरूले पूर्व फर्केर टीका लगाइदिने समितिले जनाएको छ । समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् ।
निर्धारित तिथिअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ ।
त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ । यसैगरी कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ ।