तिहारका लागि राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै
बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी तथा १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका सिक्का एक–एक थान खरिद गर्न पाइनेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट कात्तिक १९ र २० गते सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्न लागिएको हो । बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी तथा १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका सिक्का एक–एक थान खरिद गर्न पाइनेछ ।
सिक्का तथा असर्फी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गरिनेछ । मौज्दात रहेसम्म पङ्क्तिबद्ध भएर आउने सेवाग्राहीलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।
खरिदका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुल्ने अन्य आधिकारिक कागजातको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था गरिएको छ । सुनको असर्फी र चाँदीका सिक्काको मूल्य भने बिक्री हुने दिन बिहान करिब ११ बजे निर्धारण गरिनेछ । मूल्य तय भएपछि मात्रै बिक्री प्रक्रिया सुरु हुनेछ ।
तिहारमा धनतेरसका दिन सुनचाँदीलगायत बहुमूल्य धातु खरिद गर्ने र लक्ष्मीपूजाका अवसरमा पूजा गर्ने परम्परा नेपाली समाजमा रहँदै आएको छ । यही परम्परालाई ध्यानमा राखेर राष्ट्र बैंकले हरेक वर्ष तिहारअघि असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको छ । गत वर्ष भने राष्ट्र बैंकले सुनको असर्फी बिक्री गरेको थिएन । त्यसबेला ग्राहकले चाँदीका सिक्का मात्रै खरिद गर्न पाएका थिए ।