पुनर्बीमा कम्पनीले बढाए सेयर बजार सूचक, ७ अर्ब ४३ करोड रुपैयाँको कारोबार

नेपाल पुनर्बीमासँगै हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य पनि बढेको छ ।

काठमाडौँ । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आज नेप्से परिसूचक १.४० अंक बढेर २६६५.५३ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स २.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंक घटेको छ ।

बजारमा कारोबार रकम भने बढेको छ । मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यस दिन ३५८ कम्पनीका २ करोड १२ लाख २३ हजार कित्ता सेयर ५९ हजार १८५ पटकको कारोबारमा किनबेच भएका छन् ।

नेपाल पुनर्बीमासँगै हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य पनि बढेको छ । हिमालयन रिको मूल्य साढे ११ प्रतिशत र श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको मूल्य साढे ८ प्रतिशत बढेको छ । कारोबारमा आएको सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य भने सबैभन्दा धेरै ६.३४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन शीर्ष स्थानमा रहेको छ । कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ३६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये चारको परिसूचक बढेको छ भने नौ वटाको घटेको छ । अन्य उपसमूह सबैभन्दा धेरै ६.१८ प्रतिशत बढेको छ । व्यापार उपसमूह पनि एक प्रतिशतभन्दा बढीले उकालो लागेको छ । जीवन बीमा र म्युचुअल फन्ड उपसमूहमा सामान्य वृद्धि देखिएको छ ।

आज कारोबारमा आएका मध्य ९८ कम्पनीमो मूल्य बढेको छ भने १७१ कम्पनीको घटेको छ त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।