तिहारका पटाकाले बढायो प्रदूषण, स्वास्थ्य र जनजीवनमा जोखिम
काठमाडौं । तिहारमा पटाका पड्काउने क्रम बढेसँगै वायु तथा ध्वनि प्रदूषणको जोखिम पनि बढेको छ । चाडपर्वको उल्लासका बीच पड्काइने पटाकाले वातावरण प्रदूषित बनाउनुका साथै मानव स्वास्थ्य र जनजीवनमा समेत गम्भीर असर पार्न थालेको छ ।
तिहारमा फूल, बत्ती र देउसी–भैलोले रौनक बढाइरहेका बेला पटाकाको चर्को आवाजले टोलबस्तीको शान्ति खलल पुर्याएको छ । विशेषगरी रातिको समयमा पड्काइने पटाकाका कारण बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई समस्या भइरहेको छ ।
पटाकाबाट निस्कने धुवाँ, धुलो र विषाक्त ग्यासले वायु प्रदूषणसमेत बढाएको छ । एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आज मध्याह्नसम्म काठमाडौंको वायु प्रदूषण १४३ पुगेको छ । यो अस्वस्थ तह हो । एक्यूआई १०१ देखि १५० सम्म पुगेमा अस्वस्थ मानिन्छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले तिहारमा प्रयोग हुने पटाका, प्लास्टिकका फूल तथा अन्य प्रदूषणजन्य सामग्रीले वातावरणमा प्रतिकूल असर पार्ने बताएका छन् । उनका अनुसार पटाकाबाट निस्कने धुवाँ र विषाक्त ग्यासले वायु प्रदूषण बढाउनुका साथै चर्को आवाजले मानव स्वास्थ्यमा समेत असर पुर्याउँछ ।
उनले तिहारमा प्लास्टिकका फूलको सट्टा प्राकृतिक फूल प्रयोग गर्न र पटाका तथा आतसबाजीको विकल्पमा वातावरणमैत्री उपाय अपनाउन आग्रह गरेका छन् ।
वातावरणविद् राजन थापाले पनि पटाकाबाट निस्कने धुवाँ, धुलो र रासायनिक पदार्थले वायु प्रदूषण बढाइरहेको बताएका छन् । उनका अनुसार केही दिनअघि भएको वर्षाले काठमाडौं उपत्यकाको वायुमण्डलमा रहेका प्रदूषक कण पखालेपछि वातावरण स्वच्छ बनेको थियो । तर अहिले पुनः प्रदूषण बढ्न थालेको छ ।
सार्वजनिक बिदाका कारण उपत्यकामा सवारीसाधनको चाप घटेको र पूर्वाधार निर्माणका गतिविधि पनि न्यून रहेको अवस्थामा प्रदूषण बढ्नुले पटाकालगायत अन्य स्रोतको प्रभाव देखिएको थापाको भनाइ छ । पटाकाको चर्को आवाजले पशुपन्छी तथा जीवजन्तुमा समेत असर पार्ने भएकाले यसको प्रयोग निरुत्साहित गर्नुपर्ने उनले बताएका छन् ।
पटाकाले स्थायी बहिरोपनको जोखिम
पटाकाबाट निस्कने चर्को आवाजले कानको श्रवण क्षमतामा गम्भीर क्षति पुर्याउन सक्ने चिकित्सकले चेतावनी दिएका छन् ।
वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताका अनुसार सामान्यतया ८५ डेसिबलसम्मको आवाज सुरक्षित मानिन्छ । तर पटाका विस्फोट हुँदा १४० देखि १५० डेसिबल वा सोभन्दा बढी ध्वनि उत्पन्न हुन सक्छ । यस्तो आवाजले कानको भित्री संरचनामा क्षति पुर्याएर स्थायी बहिरोपनसमेत निम्त्याउन सक्छ ।
उनले पटाकाको तीव्र आवाजले कानको जाली फुट्नुका साथै श्रवण क्षमतासँग सम्बन्धित सूक्ष्म कोषिका नष्ट गर्न सक्ने बताएका छन् । यस्ता कोषिका नष्ट भएपछि पुनः निर्माण नहुने भएकाले श्रवण शक्ति स्थायी रूपमा गुम्न सक्ने उनको भनाइ छ ।
पटाका पड्किएको आवाजपछि कानमा सिट्टी बज्ने, गुनगुनाउने, कान थुनिएको महसुस हुने तथा अरूले बोलेको स्पष्ट नसुनिने समस्या देखिन सक्छ । यस्ता लक्षण २४ देखि ४८ घण्टासम्म पनि कम नभए नाक, कान तथा घाँटी रोग विशेषज्ञसँग परामर्श लिन उनले सुझाव दिएका छन् ।
पटाका पड्काउँदा बालकको मृत्यु
पटाकाको जोखिम प्रदूषण र स्वास्थ्यमा मात्रै सीमित छैन । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटाका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटाका पड्काउने क्रममा छातीको बीच भागमा छर्रा लागेर घाइते भएका थिए । उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
चाडपर्वको खुसी मनाउने नाममा पटाकाको प्रयोगले वातावरण, स्वास्थ्य र मानव जीवनमै जोखिम निम्त्याइरहेको घटनाले देखाएको छ । त्यसैले तिहार मनाउँदा मनोरञ्जनसँगै वातावरणीय स्वच्छता र स्वास्थ्य सुरक्षालाई समेत प्राथमिकता दिन आवश्यक देखिएको छ ।