सरकारले पायो एक वर्षमै १६ अर्ब ५४ करोड पुँजीगत लाभकर
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारबाट सरकारले हालसम्मकै उच्च पुँजीगत लाभकर पाएको छ ।
सो आर्थिक वर्ष कुल १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ । यसअघि आर्थिक वर्ष २०७७/७८ मा सरकारले १४ अर्ब १३ करोड लाभकर पाएको रेकर्ड थियो ।
गत आर्थिक वर्षको पुँजीगत लाभकर अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा तीन गुणा बढी हो । अघिल्लो वर्ष सरकारले ५ अर्ब ५१ करोड रुपैयाँ पुँजीगत लाभकर पाएको थियो । गत आर्थिक वर्ष साउन महिनामा सबैभन्दा धेरै ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा कुल ११६ कम्पनीको बोनस सेयर, प्राथमिक सेयर, एफपीओ, ऋणपत्र तथा म्यचुअल फण्डका इकाइ थप भएका छन् । गत आर्थिक वर्ष नै सेयर कारोबारमा पनि रेकर्ड बनेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार गत आर्थिक वर्ष कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९ प्रतिशत बढी हो । यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै १४ खर्ब ५४ अर्ब ४४ करोडको कारोबार रेकर्ड बनेको थियो ।