कर्णाली विकास बैंक अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्व कर्मचारी पक्राउ
काठमाडौं । कर्णाली विकास बैङ्क अनियमितता प्रकरणमा सघाउ पुराउने राष्ट्र बैङ्कका पूर्वकर्मचारी पक्राउ परेका छन् । अवस्था खराब रहेकै बैङ्कको अवस्था ठिक प्रतिवेदन बनाउने राष्ट्र बैङ्कका पूर्व कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैङ्क अनियमितता प्रकरणमा यसरी प्रतिवेदन बनाएका नेपाल राष्ट्र बैङ्कका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत पक्राउ परेका हुन् । उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको बताइएको छ । यो बैङ्कको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता प्रकरणमा अनुसन्धान जारी छ ।
बैङ्क गम्भीर समस्यामा पुगिसकेको बेलामा अनुगमन अधिकृतका रूपमा खटिएका बस्नेतले अवस्था ठिक रहेको भन्दै प्रतिवेदन दिएको आरोप उनीमाथि छ ।
यसअघि नै सीआईबीले अनुगमनमा गएकाहरूको विवरण माग्दै नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरेको थियो ।
कर्णाली विकास बैङ्कको अन्य बैङ्क खातामा रहेको रकम र बैङ्कको कोर बैङ्किङ प्रणाली ९सीबीएस० मा प्रविष्ट रहेको रकमबीच अन्तर निस्किएपछि यसमा घोटाला भएको खुलेको थियो । विभिन्न बैङ्कको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको आन्तरिक छानबिन समितिले देखाएपछि अनुसन्धानका लागि सीआईबीलाई पत्र पुगेको थियो ।