गुणस्तरीय शिक्षाको गन्तब्य बन्दै लुम्बिनी विश्वविद्यालय, ८० अर्बको देवदह गुरूयोजना सार्वजनिक
विश्वविद्यालयले रुपन्देहीको खडैयामा १२ करोड ८३ लाखको लागतमा एक सय जना विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय होस्टेल निर्माण गर्न लागेको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले ८० अर्व रुपैयाँको लागतमा बन्ने पूर्वाधार गुरूयोजना सार्वजनिक गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा विश्वविद्यालयले गुरूयोजना अघि सारेको हो । यसअघि असार ३२ गते विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आ� ौं सभाले पूर्वाधार गुरूयोजना स्वीकृत गरेको थियो ।
अर्थमन्त्री पौडेलले लुम्बिनीमा देवदह गुरूयोजना सार्वजनिक कार्यक्रममा अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्याससमेत गरे । सरकारले २०७७ मा देवदहको झण्डै ९२ विगाहा जमिन विश्वविद्यालयलाई भोगाधिकार दिएको थियो । सोही जमिनलाई उपयोग गर्ने गरि विश्वविद्यालयले पूर्वाधार गुरूयोजना अघि सारेको हो ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले गुरूयोजना बनाएर मात्रै नहुने र कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता आवश्यक पर्ने बताए । २०५१ मा विश्वविद्यालय स्थापना माग गर्दै हस्ताक्षर संकलन गरिएको क्षण स्मरण गर्दै पौडेलले भने, ‘यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रूपमा स्थापित हुन सक्छ । शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाइमा पु¥याउनुपर्छ ।’
८० अर्बको गुरूयोजनालाई मूर्तरूप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्ने पौडेलको कथन छ । ‘बजेट भएर मात्रै पनि विकास नहुने रहेछ, राष्ट्रिय गौरवको लुम्बिनी विकास योजना ४० वर्ष नाघ्दा पनि सकिएन,’ पौडेलले भने ।
विश्वविद्यालयले रुपन्देहीको खडैयामा १२ करोड ८३ लाखको लागतमा एक सय जना विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय होस्टेल निर्माण गर्न लागेको हो । २० महिनाभित्र निर्माण सकिने अपेक्षा गरिएको छ । विश्वविद्यालयमा हाल करिब २ सय विदेशीसहित ३ हजार विद्यार्थी अध्ययनरत छन् ।
विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयले पूर्वाधार निर्माणसँगै प्राज्ञिक अनुसन्धानहरू सरकारका योजनामा पर्नेगरी काम गरिरहेको बताए । लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रूपमा विकास गर्नेगरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको आचार्यले दावी गरे ।