रुपाकोटका मेयरको कपाल मुण्डन गरेर माइतीघरमा सत्याग्रह

काठमाडौं —

विभिन्न माग राख्दै सिंहदरबारको दक्षिण गेटमा कपाल मुण्डन गरेर सत्याग्रह बस्न खोजेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर माइतीघरमा छाडेको छ।

स्थानीय स्रोत, सामग्री र उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सरकारले कानुन बनाए पनि कार्यान्वयन नगरेपछि निषेधित क्षेत्रमा सत्याग्रह बस्न खोज्दा उनलाई नियन्त्रणमा लिइएको हो।

भट्टराईले शिर मुण्डन गरेर, खाली खुट्टा, मुखमा पट्टी बाँधेर र बाँसको घनासहित तीन दिनसम्म सत्याग्रह बस्ने बताएका छन्।


भट्टराईका मुख्य मागहरू यसप्रकार छन्:

  1. जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकारले ठोस कानून बनाई, प्रदूषण धेरै गर्ने मुलुकसँग क्षतिपूर्ति लिनु पर्ने।
  2. बाँस र अन्य कच्चा पदार्थहरू सरकारी कार्यालयहरूमा प्रयोग गर्न आवश्यक बिल्डिङ कोड र मानक तयार पारेर कानुनी व्यवस्था गरिनु पर्ने।
  3. प्लास्टिकजन्य फोहोर उत्पादन गर्ने उद्योगहरूबाट स्थानीय तहले अतिरिक्त १०% कर उठाउने अधिकार प्राप्त गर्ने कानून बनाइनु पर्ने।
  4. प्राकृतिक दोहन गर्ने क्रसर तथा उद्योगहरूलाई कडाइका साथ रोक्न सक्ने, कडा कानून बनाई कारबाहीको व्यवस्था गरिनु पर्ने।
  5. वन तथा उद्योग मन्त्रालयले फर्निचर खरिद गर्दा बोस, काठ, राडीपाखी, वातावरणमैत्री सामग्रीबाट बनेका संरचनालाई प्राथमिकता दिने नीतिगत निर्णय गर्नुपर्ने।
  6. काठमाडौंदेखि खोटाङसम्मको बाटोमा रहेका पुल, सडक तथा संरचना निर्माण अलपत्र अवस्थामा भएकाले ती कार्यहरूमा संलग्न निकायलाई कानुनी कारबाही गरी निर्माण तुरुन्त सुरु गरिनु पर्ने।
  7. पहाडी भूभागमा बाँदर तथा वन्यजन्तुको आतंक बढ्दो भएकाले त्यसले बसाइसराइको दर बढाएको अवस्थालाई ध्यानमा राख्दै तत्काल क्षतिपूर्ति र बाँदर व्यवस्थापनका लागि नीतिगत निर्णय गरिनु पर्ने।