मधेशमा ४ महिनामा ३०० डिप बोरिङ, पुरा रिर्पोटपछि काम अघि बढ्ने
विपद् संकटग्रस्त क्षेत्र मधेश प्रदेशका विभिन्न जिल्लामा चैतयताका ४ महिनामा सिंचाइका लागि ३ सय वटा डिप बोरिङ खनेको पाइएको छ । मधेशमा स्थलगत अध्ययनमा रहेको अन्तरमन्त्रालय स्तरको अध्ययन कार्यदलले मुख्यसचिव एकनारायण अर्याललाई प्रारम्भिक रिपोर्ट आइतबार बुझाएसँगै तथ्य बाहिरिएको हो ।
मुख्यसचिव अर्यालका अनुसार ३ सय वटा डिप बोरिङ खनिएको भए पनि विविध कारणले प्रभावकारी रूपमा सञ्चालन नभएको स्थिति छ । ‘चैत वैशाखदेखि ८ वटा जिल्लामा ३ सय वटा डिप बोरिङ खनिसकिएको भन्ने रिपोर्ट छ । धेरै स्थानमा उपभोक्ता समितिमार्फत गरिएको र ड्युरेबल नभएको भन्ने छ,’ प्रारम्भिक रिपोर्टका आधारमा मुख्यसचिव अर्यालले भने ।
विशेषगरी सामुदायिक उपभोक्ता समितिमार्फत गरिएका काममा प्रभावकारिता र स्थायीत्वको समस्या आएको अर्यालको भनाई छ । यसअवधिमा ५० स्थानमा ट्रान्सफर्मरसमेत चोरिएका छन् ।
‘ट्रान्सफरमर चोरिएको विषयमा नेपाल विद्युत् प्राधिकरणसँग कुरा भइसकेको छ । छिट्टै जोड्ने काम हुन्छ । गण्डक नहरको सरसफाइ ग¥यो भने पनि पानीको मात्रा बढाउन सकिन्छ भन्ने कुरा आएको छ’ अर्यालले भने । केही स्थानमा भोल्टेजको स्थायित्व नहुँदा सिँचाइको काम अघि बढ्न नसकेको अध्ययन टोलीको निस्कर्ष छ । मुख्यसचिव अर्यालले एकीकृत प्रतिवेदन आएपछि सरकारले बाँकी एक्सनसहित प्लान अघि बढाइने बताए ।