अमेरिकाले एमसीसीलाई निरन्तरता दिने, पत्र आइसक्यो : अर्थ मन्त्रालय
अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमले निरन्तरता पाएको छ । अमेरिकी सरकारको पत्र अर्थ मन्त्रालयमा प्राप्त भएसँगै सरकारलाई एमसीसी कार्यान्वयन गर्न बाटो खुलेको छ ।
अर्थ मन्त्रालयका अनुसार एमसीसीको साउन ८ गतेको पत्रअनुसार नेपालमा सञ्चालित एमसिसीका कार्यक्रमले निरन्तरता पाएको हो । यसअघि गत साता अमेरिकी सरकारले एमसीसीलाई निरन्तरता दिएको यस्तो निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको थियो ।
‘अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ र हामीले नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएका छौं,’ अमेरिकी दूतावासले भनेको थियो, ‘५० करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउँछ ।’ अमेरिकी सरकारको यस्तो निर्णयसँगै अब एमसीसी नेपाल कार्यक्रम सञ्चालन गर्न बाटो खुलेको छ ।