नयाँ पर्यटन नीति सार्वजनिक : भैरहवा विमानस्थलमार्फत बौद्ध धर्मावलम्बी भएका देशहरुमा सिधा उडान गर्ने प्रयास भइरहेको दाबी
सरकारले मुलुकको पर्यटन क्षेत्रको समग्र विकास तथा प्रवर्द्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ । सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित कार्यक्रमकाबीच मन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पर्यटन नीति सार्वजनिक गरेका हुन् ।
मन्त्री पाण्डेले नीति सार्वजनिक गर्दै नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नीति महत्वपूर्ण हुने बताए । उनले नीतिको कार्यान्वयनको समयमा देखिएका समस्या र छुटेका विषयहरु समेत नीतिमा समावेश गर्दै जाने बताए। उनले नीति कार्यान्वयनका लागि कार्यनीति र रणनीति निर्माणको प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिए । उनले संघीयतालाई थप प्रभावकारी बनाउन समन्वय परिषद् समेत गठन गरिएको उल्लेख गर्दै विभिन्न ठाउँमा गरी तीन वटा बैठक सम्पन्न भइसकेको पनि बताए । नीतिमार्फत नेपाललाई सांस्कृतिक र प्राकृतिक दृष्टिकोणबाट अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान दिलाउने लक्ष्य लिएको उनको भनाइ छ ।
उनले भने, ‘मुलुकमा सुशासन कायम होस् भन्ने हिसावले नै नीति ल्याउने हो । राम्रो नीति बनाउने हो । यस नीतिमा अझै पनि केही कुरा छुटेको हुन सक्छ । त्यसका लागि पनि हामी सबै सचेत छौं । नीतिमा छुटेका कुराहरुलाई अगामी दिनमा मिलाउने अधिकार हामीलाई छँदैछ । तर अहिलेको लागि हामी सबैको लागि खुशीको कुरा भनेको हामीले नीति प्राप्त गरेका छौं । अद्वितीय पर्यटकीय गन्तव्य रुपमा नेपाललाई चिनाउनको लागि पनि नीतिले महत्वपूर्ण भूमिका खेल्ने छ । पर्यटकीय हिसाबले र सांसकृतिक हिसावले पनि नेपाल बाहिर दोस्रो त्यस्तो ठाउँ छैन । त्यसको कार्यान्वयनको लागि कार्यनीति र रणनीति बनाउने कामहरु समेत भइरहेको छ । संघीयतालाई अझै प्रभावकारी बनाउनको लागि हामीले समन्वय परिषद् गठन भएको छ ।’
मन्त्रालय मातहतका निकायहरुको मर्ज गर्ने मन्त्रिपरिषद्को निर्णयले ऐन निर्माणमा केही समस्या भएको पनि मन्त्री पाण्डेले बताए । उनले सबै निकायहरुको लागि विशिष्टीकृत ऐन निर्माणमा मन्त्री सक्रिय रहेको बताए । भैरहवा विमानस्थलमार्फत बौद्ध धर्मावलम्बी भएका देशहरुमा सिधा उडान होस् भन्ने धेरै चाहना भएको उल्लेख गर्दै उनले त्यहीअनुसार कार्ययोजना बनाइरहेको पनि बताए ।