१० दिनपछि छुटे दिपेन्द्र अग्रवाल, यस्तो छ पहिलो प्रतिक्रिया
ठगी र विश्वासघातको अरोपमा पक्राउ परेका अग्रवाल बुधबार काठमाडौ जिल्ला अदालतको अनुमतिमा रिहा भएका हुन् ।
काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन् । १० दिनको हिरासतपछि अग्रवाल बुधबार हाजिरी जमानीमा प्रहरी हिरासतबाट रिहा भएका हुन् । ठगी र विश्वासघातको अरोपमा पक्राउ परेका अग्रवाल बुधबार काठमाडौ जिल्ला अदालतको अनुमतिमा रिहा भएका हुन् ।
यहि साउन ५ गते काठमाडौंको टोखाबाट पक्राउ परेका अग्रवाल प्रहरी अनुसन्धानपछि हाजीर जवानीमा रिहा भएका हुन् ।
यद्यपि, उनी माथिको अनुसन्धान भने अझै जारी हुनेछ ।
हिरासतबाट छुटेपछि सामाजिक सञ्जालमा अग्रवालले लेखेका छन्, ‘१० दिनको वनवास र र अन्गि परीक्षापछि सत्यको जित हुँदै फर्किएको ।’
खासगरी, अग्रवालमाथि सेयर खरिदबिक्रीमा मानिसलाई ‘मिस लिड’ गर्ने गरेको आरोप लामो समयदेखि लाग्दै आएको छ । विभिन्न सामाजिक सञ्जाल तथा प्लेटफर्ममा समेत उनले सेयर खरिद गर्न लगाएर फसाएको भन्दै विरोध हुँदै आएको थियो ।
मानिसलाई सेयर खरिद गर्न लगाउने र फसाउने काम गरेको भन्दै पछिल्लो समय अग्रवाल विवादमा तानिएका थिए ।
नेपाल फाइनान्स जस्ता कम्पनीको सेयर खरिद गर्न लगाएर तीब्र गतिमा मूल्य उतारचढाव गराउने तथा साधारण लगानीकर्तालाई फसाउने काम गरेको आरोप उनीमाथि लाग्दै आएका छन् ।
सामाजिक सञ्जालहरुमा सक्रिय अग्रवाल क्लबहाउस लगायत सामाजिक सञ्जालमा बजारका विषयमा विभिन्न किसिमका छलफल तथा कुराकानी गर्ने गर्दछन् ।
अग्रवालमाथि लगानीकर्ताको गुनासो र उजुरी बढ्दै गएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समेत निगरानीमा राखेको थियो ।