चेम्बर र श्रीलंका चेम्बरबीच रणनीतिक साझेदारी सम्झौता, एसएमई प्रबद्र्धन र द्विदेशीय व्यापार सहजीकरण
काठमाडौं । श्रीलङकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (एसएलसीएसएमआई) बीच साना तथा मझौला उद्यम (एसएमई) प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने विषयमा समझदारी भएको छ ।
श्रीलङकाका लागि नेपाली राजदूत डा. पूर्ण बहादुर नेपालीको उपस्थितीमा सम्झौता पत्रमा एनसीसीका तर्फबाट अध्यक्ष कमलेस कुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन डी शिल्भाले हस्ताक्षर गरे ।
दुई संस्थाबीच एसएमईहरुको प्रवद्र्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलङकाको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्ने विषयमा सम्झौता भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । एसएमईमा एक अर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम, प्रशिक्षण, कार्यशाला गोष्ठि जस्ता विषयमा सहकार्य गर्न दुबै पक्ष राजी भएका छन् ।
त्यसैगरि दुवै देशका चेम्बर प्रतिनिधीहरुबीच दुई पक्षीय भेटवार्ता, एसएमईमा दुई पक्षीय लगानी गर्ने विषयमा पनि सहकार्य हुने जनाईएको छ । एसएमइहरुद्धारा उत्पादित बस्तुहरुको एक अर्काका देशमा प्रर्दशनी एवं व्यापार अभिवृद्धि गर्न एनसीसी र एसएलसीएसएमआईका तर्फबाट समन्वय गरिने सम्झौतामा उल्लेख छ । दुई पक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, एसएमइको सम्भावना सम्वन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने छ ।