मन्दाकिनी हाइड्रोको नाफा सामान्य बढ्यो
मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.५१ प्रतिशत र सञ्चालन मुनाफा ४.४१ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा २५.२५ प्रतिशत बढेको छ भने वित्तीय खर्च १८.६५ प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९० पैसा बढेर ६ रुपैयाँ १७ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ७ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९७.६३ गुणा रहेको छ ।
६४ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ करोड ६१ लाख रुपैयाँ सञ्चित छ ।