पुँजी बजार सुधारको लागि लगानीकर्ताले अर्थमन्त्रीलाई भेटेर दिए तीन सुझाव

नेपाल शेयर बजार लगानीकर्ता संघको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेका छन । नेपालको पूँजीबजारको वर्तमान अवस्था, लगानीकर्ताहरूका हकहित, बजारको उन्नति र प्रगति एवं समयसापेक्ष सुधारका विषयमा विस्तृत छलफल भएको हो । 

शेयर बजारको विकास र विस्तारका लागि अर्थ मन्त्रालय सधै सकृय रहेको अर्थमन्त्री पौडेलले बताए । पूँजीबजारलाई देशको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भको रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ । मन्त्री पौडेलले भने, “निकट भविष्यमा कुन–कुन पक्षमा कस्तो सुधार आवश्यक छ, त्यसको ठोस पहिचान गरी कार्यान्वयनमा विशेष जोड दिइनेछ। यस विषयमा तपाईंहरू विश्वस्त हुन म अनुरोध गर्दछु।’ 

त्यसैगरी, भेटघाटका क्रममा संघले पूँजीबजारको विकासका लागि अर्थ मन्त्रालयको भूमिकाबारे आफ्नो स्पष्ट धारणा राख्दै एक सुझावपत्र समेत पेश गरेका हुन । संघ प्रतिनिधिमण्डलले पूँजीबजारको दिगो विकास र विस्तारका लागि लगानीकर्तामैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । लगानीकर्ताको हित संरक्षणका लागि बलियो पूर्वाधारको सुदृढीकरण, बजारको विकासका लागि गतिशील एवं सकारात्मक निर्णयहरूको कार्यान्वयन तथा नीतिगत स्थिरता आवश्यक रहेको छ । बजारलाई आधुनिक र विश्वसनीय बनाउन गरिनुपर्ने सुधारका कार्यहरूमा ढिलाइ गर्न नहुने धारणा संघका महासचिव रविन कँडेलको छ । 


संघद्वारा प्रस्तुत प्रमुख माग तथा सुझावहरू:

 संघले अर्थमन्त्रीसमक्ष प्रस्तुत गरेको सुझाव-पत्रमा निम्न विषयहरूलाई तत्काल सम्बोधन गर्न जोडदार माग गरेको छ:

 १. छुट्टाछुट्टै आईएसआईएन नम्बरको कार्यान्वयन: सीडीएससीद्वारा जारी गरिएको निर्देशिका अनुसार हकप्रद, बोनस र साधारण शेयर (आईपीओ) का लागि छुट्टाछुट्टै आईएसआईएन नम्बर अविलम्ब लागू गरी बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने।

२. नेप्सेमा तत्काल सुधार: नेपाल स्टक एक्सचेन्जको प्रणालीगत तथा प्राविधिक सुधारका कामहरू तत्काल सुरु गरी लगानीकर्ताले भोग्नुपरेका समस्याहरूको अन्त्य गर्नुपर्ने।

 ३. नियामक निकायको संरचनात्मक सुधार: नेपाल धितोपत्र बोर्डलगायत पूँजीबजारसँग सम्बन्धित सबै नियामक निकायहरूलाई एउटै छातामुनि ल्याई एकीकृतरूपमा संरचनात्मक सुधारको प्रक्रिया अगाडि बढाउनुपर्ने, जसले नीतिगत समन्वय र प्रभावकारी नियमन सुनिश्चित गर्नेछ।