दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने
दुई फरक मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयले आदेश अध्ययन गर्न तथा रायसहितको प्रतिवेदन तयार पार्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिइसकेको जनाएको छ ।
सोमबार उच्च अदालत पाटनको दुई अलग इजलासले प्रसाईंलाई दुई फरक मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तीनकुने घटनासम्बन्धी मुद्दामा न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
त्यसैगरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा दायर गरिएको बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
प्रसाईं कुल ११९ दिन हिरासतमा बसेपछि रिहा भएका हुन् ।
महान्यायाधिवक्ताको कार्यालयले यी आदेशहरूलाई कानुनी दृष्टिकोणबाट पुनरावलोकन गरी आवश्यक परेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ। यसबारेमा छिट्टै औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ ।