नाडा अटो शोमा उड्ने कार राखिने

नाडा अटो शोमा १९ वटा चारपांग्रे ब्रान्डहरू,१३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपाग्रे सवारी ब्रान्डहरू प्रदर्शनीमा राखिने छन् ।

काठमाडौं । यस वर्षको नाडा अटो शोमा उड्ने कार, रोबोट्स लगायत गाडी तथा पार्टहरूको प्रदर्शनी हुने भएको छ ।

नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपाल (नाडा)को आयोजनामा यस्तो बताइएको हो । 

शोमा विशेष रूपमा प्रस्तुत गरिने प्रविधिहरूमा युनिट्री रोबोट्स (स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीक), दीपल ईभीटिओएल यूएभी (भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक) लगायत रहने नाडाले जनाएको छ । नाडा अटो शोमा १९ वटा चारपांग्रे ब्रान्डहरू,१३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपाग्रे सवारी ब्रान्डहरू प्रदर्शनीमा राखिने छन् । 

त्यस्तै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्था गरि ३५ कम्पनीहरूको पनि स्टल रहने छ । शोमा १२५ भन्दा बढी प्रदर्शकहरू हुने छन् भने १ लाखभन्दा बढीले शोको अवलोकन गर्ने अपेक्षा आयोजनको छ । ३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने आयोजकको भनाइ छ ।

अटो शोको तयारीको सवालमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा नाडा अध्यक्ष करण चौधरीले यसपालिको अटो शोमा धेरै विशेषता देख्न पाइने बताएका हुन् ।

अध्यक्ष चौधरीका अनुसार चीनमा उत्पादित दिपलको उड्ने कार नाडा अटो शोमा राख्न थालिएको हो। भविष्य मोबिलिटी देखाउनको लागि यो कार राख्न थालिएको अध्यक्ष चौधरीले बताए । नेपालमा पहिलो पटक दिपलको आधिकारीक बिक्रेता कम्पनीले एमएडब्लु वृद्धिले उड्ने कार ल्याउन लागेको हो । 

अमेरिका, चीन, युरोप लगायतका क्षेत्रमा उड्ने कारहरूको प्रयोग हुन थालेको छ। यसपालिको नाडामा दिपलले प्रदर्शनीको लागि यो कार भित्र्याउन थालेको हो ।