उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।
जीतपुर सिमरा उद्योग वाणिज्य संघको आठौं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै अध्यक्ष ढकालले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आवश्यक रहेको बताएका हुन् । उधारो उठाउने कानूनका विषयमा महासंघले सरकार र नियामक नियकासंग पैरवी गरिरहेको पनि बताए ।
महासंघले देशको आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघको पहल र पैरवीले पछिल्लो समय विभिन्न ३० वटा कानूनहरु संशोधन भएको र त्यसले लगानी मैत्री वातावरण सिर्जना भएको दावी गरे ।
‘निजी क्षेत्रको सुदृढीकरणमार्फत देशको समग्र आर्थिक विकास सम्भव छ । त्यसका लागि महासंघमार्फत रोजगारदाता र श्रमिकसंगको सम्बन्ध सुमधुर बनाउन तथा न्यूनतम ज्याला तय गर्ने वियषमा पनि रचनात्मक ढंगले काम गर्ने पहल भइरहेको छ’ अध्यक्ष ढकालले भने, ‘जीतपुर सिमरा उद्योग वाणिज्य संघ पनि नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्न, व्यवसायीहरूको समस्या समाधान गर्न र स्थानीय स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्न सक्रिय हुनुपर्छ ।’
जीतपुर सिमरालाई तराईको औद्योगिक केन्द्रको रूपमा उल्लेख गर्दै अध्यक्ष ढकालले भने, ‘भौगोलिक अवस्थिति, सिमरा विमानस्थल तथा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ जस्ता पूर्वाधारले व्यापार र उद्योगको अभूतपूर्व सम्भावना बोकेको क्षेत्र हो ।’