दीपेन्द्र अग्रवालकी श्रीमतीको उजुरीका आधारमा श्रीवास्तव पक्राउ
ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा श्रीवास्तव पक्राउमा परेका हुन् ।
मिताले दिएको ११ करोड ५५ लाख रुपैयाँ ठगीसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मिता अग्रवालले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपाने विरुद्ध जिल्ला प्रहरी वृत्त सिंहदरबारमा ठगीको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।
उजुरीपछि प्रहरीले चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पूर्जी जारी गरेको थियो । यद्यपि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थिएन । साउन २० श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त ब्रोकरसँगको कारोबार लेनदेन विवादकै कारण सेयर कारोबारी दीपेन्द्र अग्रवाल काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिर जमानीमा रिहा भएका छन् ।