इम्पेरमेन्ट चार्ज घट्दा कृषि विकास बैंकको नाफामा वृद्धि

कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.८८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६।९३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७।२१ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.८४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४१.२९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ३।९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २ अर्ब ४५ करोडबाट घटेर १० करोडमा सीमित भएको छ। जसका कारण खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९ रुपैयाँ ७ पैसा बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.८४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा रहेको छ। सो अवधिसम्ममा २ अर्ब ५५ करोड २० लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४२ पैसा रहेको छ।

१३ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १९ अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।