मल अभाव हुन नदिन तीन दिने अल्टिमेटमसहित प्रधानमन्त्रीकाे तीन बुँदे निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायतका विषयमा देखिएका समस्या समाधानका लागि तत्काल कार्य अघि बढाउन तीन बुँदे निर्देशन दिएका छन् ।
कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीसँग गहन छलफल गर्दै तीन दिनभित्र कार्य सम्पादन गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।
ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन र नयाँ ढाँचासहितको ठोस योजना ल्याउन भनेक छन् । त्यस्तै, कम्पोष्ट र आग्र्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन पनि ओलीले निर्देशन दिए ।
त्यसैगरि माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन भनेका छन् । प्रधानमन्त्री ओलीले किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने क्रम जारी रहँदा पनि मल नपाएको गुनासो आएपछि प्रधानमन्त्री ओलीले समस्या समाधानमा प्राथमिकता दिएका हुन् ।
प्रधानमन्त्री ओलीले खेतीपातीको समय हुनु अगावै कृषिमन्त्रीसहित सम्बन्ध अधिकारीसँगको छलफलमा मलको अभाव नहुने गरी काम गर्न र नेपालमै रासायनिक मलको उत्पादन कारखाना खोल्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना ल्याउन निर्देशन दिए ।
कृषि र उद्योग मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीबाट तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।
१. रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउनुस् ।
२. कम्पोस्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउनुस् ।
३. माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनुस् ।