नेप्सेको विश्लेषण गर्ने भन्दै ‘नेप्से एआई’ एपबाट साढे २८ लाख ठगी
काठमाडौं । फेसबुकमा देखेको विज्ञापनबाट नेप्से एआई नामक एप्स डाउनलोड गर्दा एक व्यक्तिको खाताबाट एकैचोटी साढे २८ लाख बढी रकम चोरी भएको छ । परिवर्तित जोन डोइ नाम गरेका एक व्यक्तिले फेसबुकमा देखेको विज्ञापनबाट नेप्से एआई नामक एप्स डाउनलोड गरेका थिए । लगत्तै उनको बैंक खाताबाट २८ लाख ६१ हजार रुपैयाँ चोरी भयो । फेसबुकमा देखेको विज्ञापनबाट यो एप्स डाउनलोड गरेपछि उनको मोबाइलमा रिमोट एक्सेस खुलेको थियो ।
केही समयपछि उनको मोबाइल स्क्रिन ब्ल्यांक भएर गयो र लगत्तै बैंक खाताबाट २८ लाख ६१ हजार रुपैयाँ चोरी भयो । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार सो व्यक्तिका मोबाइलमा भएका सम्पूर्ण डाटा र एप्स पनि मेटिएको पाइएको छ । यो घटना बाहिर ल्याउँदै नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत फैलिरहेको फसाउने यस्ता प्रवृत्तिविरुद्ध सचेत रहन आग्रह गरेको छ ।
प्रहरी प्रधानकार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले हालै फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालहरूमा ‘नेप्से एआई’ नामक एप्स डाउनलोड गर्न लगाई डिजिटल डिभाइसबाट ठगी गर्ने गरि फैलिरहेको त्रुटिपूर्ण सूचना तथा झुठो प्रचारबाट बँच्न समेत आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कुनै अनजान लिंक तथा एप्सहरू क्लिक गरेर डाउनलोड र स्थापना गर्न नहुन विशेष अनुरोध छ । उक्त एप्स स्थापना गरिएपछि मोबाइलमा रहेको सम्पूर्ण डाटा मेटाउने, रकम स्वेच्छाले अन्य खातामा स्थानान्तरण हुने तथा डिजिटल डिभाइसमा क्षति पुर्याउने जोखिम रहन्छ ।’
नेपाल प्रहरीले यस किसिमका घटना घट्न नदिन दुई–चरणीय प्रमाणीकरण प्रयोग गर्न, पासवर्ड नियमित परिवर्तन गर्न, अपरिचित एप्स कहिल्यै पनि स्थापना नगर्न, अनधिकृत व्यक्ति वा एप्सलाई रिमोट पहुँच नदिने र आधिकारिक प्ले स्टोर वा एप स्टोरबाट मात्र एप्स डाउनलोड गर्ने सल्लाह दिएको छ।
यस प्रकारका फसाउने घटना भएमा सम्बन्धित बैंक तथा वित्तीय संस्था, प्रहरी कार्यालय वा साइबर ब्यूरोलाई तुरुन्त खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।