विलम्ब नगरी आइजिन नम्बरसम्बन्धी निर्देशिका स्वीकृत गर्न पाँच लगानीकर्ता संगठनको माग
काठमाडौं । पुँजी बजारका लगानीकर्ताका संघसंगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् । लगानीकर्ताका पाँच संघसंगठनहरुले एउटै विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आइजिन नम्बर) सम्बन्धी निर्देशिका स्वागत योग्य भएको बताएका छन्।
दास्रो बजारमा कारोबारमा रहेका केही कम्पनीका संस्थापक शेयरधनीहरुले लकइन अवधि नखुल्दै सेयर बिक्री गर्ने दुरुपयोग बढेको उनीहरुले आरोप लगाएका छन् । हाल सीडीएस एण्ड क्लियरिङ लिमिटेडले अगाडि बढाएको आइजिनसम्बन्धी निर्देशिकाको मस्यौदा बिलम्ब नगरी स्वीकृत गर्न धितोपत्र बोर्डलाई उनीहरुले आग्रह गरेका हुन् ।
अहिले केही कम्पनीका संस्थापक लगानीकर्ताले कर्मचारीको मिलेमतोमा एउटै आइजिन नम्बरको गलत प्रयोग गरी कम्पनीको संस्थापक सेयर, सर्वसाधारणमा परिणत नहुँदै दोश्रो बजारमा उच्च मूल्यमा बिक्री गर्दै आएको भन्ने विषयमा तत्काल छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न उनीहरुले माग गरेका छन् । साथै, यस्तो गलत क्रियाकलाप रोक्नका लागि दुईवटा आइजिन नम्बर प्रयोग गर्नुपर्नेमा उनीहरुको जोड छ । आइजिन नम्बरसम्बन्धी व्यवस्था बजारको लागि ’दूरदर्शी’ कदमको संज्ञा दिएका छन् । यो व्यवस्थाले पुँजीबजार थप पारदर्शी, स्थिर र विश्वसनीय बनाउने लगानीकर्ता संघहरुको विश्वास छ ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डले कम्पनीको आईपीओ, हकप्रद सेयर आउनुभन्दा अगाडि कम्पनीको सुशासन, जोखिम वहन गर्ने क्षमता, पारदर्शिता, व्यवस्थापन एवम् कम्पनीको व्यावसायिक योजनाको अध्ययन गरेर मात्र स्वीकृत गर्ने व्यवस्था गर्नसमेत माग गरेका छन् ।
जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ता संघले बुधबार बिहान संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।