लोडसेडिङको हल्ला निरर्थक : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको दावी गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको दावी गरे । विद्युत् विस्तार र आपूर्ति गर्ने विषयलाई सरकारले तिव्रताका साथ अगडि बढाइरहेको मन्त्री खड्काले जानकारी दिए ।

‘हामीले सुधारलाई तिव्रताका साथ अगाडि बढाएका छौं । उत्पादनलाई पनि निरन्तरता दिएका छौं । त्यसैले लोडसेडिङ निरर्थक विषय हो,’ ऊर्जामन्त्री खड्काले भने, ‘हाल १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात र १२ अर्ब ९२ करोड बराबरको विद्युत् आयात भइरहेको छ । झन्डै ५ अर्ब रुपैयाँ बराबरको नाफा विद्युत्बाट नेपालले गरेको अवस्था छ ।’

देशका केही क्षेत्रमा विद्युत् पु¥याउन बाँकी रहेको भन्दै मन्त्री खड्काले विद्युत् नपुगेका ठाउँहरूमा पनि आपूर्ति गरिराखेको दाबी गरे ।