रवि लामिछानेलाई विशेष सुविधा दिइएको होइन, कारागार सरुवाबारे सरकारले निर्णय गर्छ: गृहमन्त्री
अदालतको पनि अनुमति छ । निवेदन पनि छ । त्यसमा सरकारले सुरक्षाका सबै विषयहरूलाई हेरेर कुन कारागारमा सार्ने भन्ने निर्णय गर्छ ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले रवि लामिछानेको कारागार सरुवा प्रक्रियामा रहेको बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा बोल्दै कैदीलाई कारागार सरकारले सार्ने बताए ।
गृहमन्त्री लेखकले भने, ‘तर जुन अदालतमा मुद्दा चलिरहेको छ, त्यो अदालतले अनुमति दिने कुरा हो । उहाँबारे अदालतको पनि अनुमति छ । निवेदन पनि छ । त्यसमा सरकारले सुरक्षाका सबै विषयहरूलाई हेरेर कुन कारागारमा सार्ने भन्ने निर्णय गर्छ । यो कुरालाई गम्भीरतापूर्वक लिएको छु । थप सकारात्मक रूपमा लिन्छु पनि ।’
रुपन्देही कारागारमा रहेका लामिछानेलाई कैदीबन्दीहरुले पाइरहेको सुविधाबाट कुनै बञ्जित नगरेको गृहमन्त्री लेखकले बताए । ‘उहाँलाई सानै भएपनि अलग्गै कोठामा राखिएको छ। उहाँलाई लगातार त्यहाँको कारागारको प्रशासनले केही समस्या छ की,केही गर्नुपर्छ की भनेर सोधेकै अवस्था छ। उहाँलाई विशेष सुविधा दिइएको छ भन्ने पनि होइन। तर न्यूनतम सुविधाबाट कारागारभित्र प्राप्त हुने सुविधाबाट वञ्चित गरिएको होइन’ गृहमन्त्री लेखकले भने ।