इम्पेरमेन्ट चार्ज बढ्दा नेपाल एसबीआइको नाफा घट्यो, अरु सूचक कस्ता ?
बैंकको इम्पेरमेन्ट चार्ज बढ्दाको असर नाफामा परेको हो । यद्यपी खुद ब्याज आम्दानी भने बढेको छ ।
काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्ष गरेको नाफा अघिल्लो वर्षको १ अर्ब ९९ करोड ९७ लाख ७२ हजार रुपैयाँको तुलनामा ९.८६ प्रतिशतले कम हो । सञ्चालन नाफा पनि ३.६२ प्रतिशतले घटेर २ अर्ब ७३ करोड ३७ लाख ९२ हजार रुपैयाँमा झरेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज बढ्दाको असर नाफामा परेको हो । यद्यपी खुद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ६४ करोड ८३ लाख १० हजार रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज गत वर्ष बढेर १ अर्ब २ करोड ८५ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर ५ अर्ब २६ करोड २३ लाख ११ हजार रुपैयाँ पुगेको छ ।
यसअवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ छ । जसले सेयरधनीलाई ११ रुपैयाँ २९ पैसा लाभांश दिने क्षमता राख्छ ।
बैंकको प्रति सेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा हुँदा प्रतिसेयर नेटवर्थ भने १८८ रुपैयाँ ५९ पैसा छ । १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड ६० लाख रुपैयाँ छ । गत आर्थिक वर्षसम्म बैंकले १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३४ अर्ब ९६ करोड ५७ रुपैयाँ कर्जा लगानी गरेको छ ।