छ्याङ्दी हाइड्रोको नोक्सानी घट्यो
छ्याङ्दी हाइड्रोले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ करोड ९७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।
विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९ करोड ९७ लाख रुपैयाँबाट बढेर १४ करोड १ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा ८ करोड ३ लाख रुपैयाँबाट बढेर १० करोड ८८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने १० करोड ३६ लाख रुपैयाँबाट घटेर ९ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । जसका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो ।
३८ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २० करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ५१ रुपैयाँ ४२ पैसा रहेको छ ।