एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा १० गुणा बढ्यो, प्रतिसेयर आम्दानी ५२ रुपैयाँ २३ पैसा
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० गुणा बढेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० गुणा अर्थात ८८९.०४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको वित्तीय आम्दानी, लाभांश आम्दानी घट्दा पनि लगानी बिक्रीबाट उल्लेख्य नाफा भएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी ४३.४८ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १८.६५ प्रतिशत घटेको छ । सो अवधिसम्ममा कम्पनीले लगानी बिक्रीबाट ९० करोड ९ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । जसका कारण कम्पनीको कुल आम्दानी ९०० प्रतिशत बढेको छ । कम्पनीको कुल खर्च १ करोड १२ लाख रुपैयाँबाट बढेर ११ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४६ रुपैयाँ ६९ पैसा बढेर ५२ रुपैयाँ २३ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.६४ गुणा रहेको छ।
१ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७२ करोड २० लाख रुपैयाँ रहेको छ।