सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिइरहेको छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिएर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा काम भइरहेको बताएका छन् ।

महिला उद्यमी संघ बागमतीको नवनिर्वाचित कार्यसमितिसँगको अन्तक्र्रियामा मन्त्री भण्डारीले छिमेकी मुलुकहरूले नेपाली बजारको मागअनुसार वस्तु उत्पादन गर्न सक्ने तर, नेपालमा त्यस्तो हुन नसकेको बताए । खुला बजारका कारण आयात रोक्न नसकिए पनि स्थानीयस्तरमा उत्पादन गर्न सकिने वस्तुको माग धान्न सक्नेगरी उत्पादन गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।

‘हाम्रा चाडपर्वमा चाहिने अधिकांश वस्तु छिमेकी मुलुकले उत्पादन गर्छन्, त्यसरी नै हामीले पनि उत्पादन बढाउनुपर्छ । रोजगारीका अवसर नेपालमै प्रशस्त छन्, केवल त्यसलाई चिन्नु र उपयोग गर्नुपर्छ’ मन्त्री भण्डारीले भने, ‘महिला उद्यमीका लागि सरकारले सहुलियतपूर्ण योजनाहरू ल्याएको छ । कम्पनी वा फर्म दर्ता गर्दा महिलाले शुल्क तिर्न नपर्ने व्यवस्था छ । स्टार्टअप कर्जा कार्यक्रम र बजेटमा समावेश विभिन्न प्रोत्साहन योजनाहरू छन् । सबै मन्त्रालयका रेडबुक हेरेर आफ्ना क्षेत्रसँग मिल्ने कार्यक्रम पहिचान गरेर लाभ लिन सकिन्छ ।’

कार्यक्रममा महिला उद्यमी संघका अध्यक्ष शोभा ज्ञवालीले सबै प्रदेशमा सङ्गठन विस्तार गरी उद्यमीहरूलाई एकताबद्ध बनाउने अभियान चलाइरहेको बताइन । साना तथा मझौला उद्यमीलाई तालिम र प्रविधि प्रदान गरी आत्मनिर्भर बनाउनुपर्नेमा ज्ञवालीको जोड छ ।