साउनको सरकारी हिसाबकिताव : आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

साउनमा कर राजस्व ८० अर्ब ६७ करोड रुपैयाँ उठाउँदा गैरकर राजस्व ३ अर्ब ७९ करोड ५० लाख रुपैयाँ उठाएको छ । त्यस्तै, वैदेशिक अनुदान ४२ करोड १९ लाख रुपैयाँ प्राप्त गरेको सरकारले र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख राजस्व सरकारी खातामा ल्याएको छ

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिना (साउन) मा सरकारले ८५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आवको पहिलो महिनामा वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी गरेको हो । सरकारले चालु वर्ष १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।

साउनमा कर राजस्व ८० अर्ब ६७ करोड रुपैयाँ उठाउँदा गैरकर राजस्व ३ अर्ब ७९ करोड ५० लाख रुपैयाँ उठाएको छ । त्यस्तै, वैदेशिक अनुदान ४२ करोड १९ लाख रुपैयाँ प्राप्त गरेको सरकारले र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख राजस्व सरकारी खातामा ल्याएको छ । चालु वर्ष १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख कर राजस्व, १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख गैरकर राजस्व र ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य सरकारको छ ।

उता, सरकारले साउनमा आम्दानीभन्दा करिब आधार मात्रै खर्च गरेको छ । साउनमा ४६ अर्ब ३० करोड ६१ लख रुपैयाँ कुल खर्च गरेको छ । जुन लक्षित खर्चको दुई दशमलव ३६ प्रतिशत हो । सरकारले चालु वर्ष १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।

चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको लक्ष्य लिएकोमा साउन १८ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै महालेखाका अनुसार पुँजीगत खर्चको लक्ष्य ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ रहेकामा साउन ७२ करोड ६३ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । साउनमा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था तर्फ छ । वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएकोमा २७ अर्ब १० करोड रुपैयाँ खर्च भएको छ ।