सङ्घीय लोकतान्त्रिक मोर्चाले भन्यो– गौर हत्याकाण्ड प्रकरणमा पूर्वाग्रही अनुसन्धान नहोस्

मोर्चाको बैठकले एकपक्षीय र राजनीतिक पूर्वाग्रही ढङ्गले हुने कुनै पनि अनुसन्धान स्वीकार्य नहुने समेत चेतावनी दिएको छ ।

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाले रौतहटमा भएको गौर हत्याकाण्ड प्रकरणमा निष्पक्ष, तटस्थ र तथ्यमा आधारित छानबिन हुनुपर्नेमा बताएको छ । 

बुधबार जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा थापागाउँस्थित पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले एकपक्षीय र राजनीतिक पूर्वाग्रही ढङ्गले हुने कुनै पनि अनुसन्धान स्वीकार्य नहुने समेत चेतावनी दिएको छ ।

मोर्चाले सर्वोच्चको परमादेशको पूर्ण पाठ अझै प्राप्त नभएको भए पनि सत्य तथ्य पत्ता लगाउने नियतसहित छानबिन भए त्यसप्रति आपत्ति नराख्ने बताएको छ । तर हाल भइरहेको व्यक्तिवादी प्रचार, तथ्य तोडमोड र राजनीतिक प्रतिशोध प्रेरित गतिविधिले निष्पक्ष छानबिनमा प्रश्न उठाएको मोर्चाले जनाएको छ ।

बैठकले गौर घटनापछि गठन भएका विभिन्न छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अझैसम्म सार्वजनिक नभएकोप्रति असन्तोष जनाउँदै ती प्रतिवेदनमा उल्लेख गरिएका तथ्यलाई आधार बनाएर मात्रै वास्तविक अनुसन्धान सम्भव हुने ठहर गरेको छ । बैठकले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार छनोटको जिम्मेवारी समेत दिएको छ ।