सिटिजन्स बैंकको बागमतीमा ‘ईम्पावरिङ्ग लिडरसिप’ सेमिनार, प्रदेश–केन्द्रको सहकार्य सुदृढ बनाउने रणनीति

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘ईम्पावरिङ्ग लिडरसिप् इन् बागमती : अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ ।

सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ । हालै मधेश प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरता स्वरूप बागमती प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको छ र अरु प्रदेशहरूमा पनि यसै गरी क्रमश आयोजना गरिनेछ । बागमती केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना बैंकले जनाएको छ । सिटिजन्सले आर्थिक वर्ष २०८१/८२ सम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।

समिक्षा अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि गर्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यसअघि २०८०/८१ को असारमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि गर्दै ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख २९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।