बस्तु आयात ११.४२ प्रतिशतले बढ्दा सोयाबिन तेलले निर्यातमा उछाल
साउनमा सोयाबिन तेल मात्रै १० अर्ब ६९ करोड ५८ लाख रुपैयाँको निर्यात भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा वैदिशक व्यापारमा सुधार आएको छ । भन्सार विभागले साउनमा गत वर्षको सोही अवधिको तुलनामा आयात निर्यात दुवै बढेको तथ्यांक सार्वजनिक गरेको हो ।
विभागका अनुसार आयात गत वर्षको तुलनामा ११.४२ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ भने निर्यात ९५.७५ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । जवकी गत वर्ष साउनमा १ खर्ब २८ अर्ब ३७ करोडको सामान आयात हुँदा १२ अर्ब २२ करोड रुपैयाँको सामान निर्यात भएको थियो ।
चीनसँगको मुख्य व्यापारिक नाका रसुवा असार २४ देखि बन्द छ भने तातोपानी नाका पनि साउनमा तीन साता बन्द भएको अवस्थामा आयात तथा निर्यातमा वृद्धि भएको हो । साउनमा सोयाबिन तेल मात्रै १० अर्ब ६९ करोड ५८ लाख रुपैयाँको निर्यात भएको छ ।