नेपाल-कोइका सहकार्यको ३० वर्ष : २ करोड ९० लाख डलरका ३ परियोजनामा सम्झौता

काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको अवसरमा काठमाडौंमा विशेष समारोह आयोजना गर्दै २ करोड ९० लाख अमेरिकी डलरका ३ परियोजनामा सम्झौता बराबरका तीन परियोजनामा सम्झौता गरेको छ ।

‘सँगैका ३० वर्ष : विश्वास र सहकार्यको यात्रा’ शीर्षकमा आयोजित कार्यक्रममा गण्डकी प्राविधिक शिक्षालय, फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास परियोजना (दोस्रो चरण) र सुदूरपश्चिम पोलिटेक्निक संस्थान स्थापना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

गण्डकी प्राविधिक शिक्षालय स्थापना सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क ते–यङ्गले हस्ताक्षर गरेका छन् । ९० लाख डलर बजेटको यो परियोजना सन् २०२५ देखि सन् २०३० सम्म सञ्चालन हुनेछ ।

त्यसैगरी, १–१ करोड डलरका दुई रेकर्ड अफ डिस्कसन (आरओडी)मा पनि हस्ताक्षर भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरि बहादुर के.सी. र कोइका नेपालका देशीय निर्देशक मूहन कोङबीच ‘फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास परियोजना (दोस्रो चरण)’मा सम्झौता भएको हो । यो परियोजना सन् २०२५ देखि सन् २०३१ सम्म सञ्चालन हुने छ ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा र कोङबीच नै ‘सुदूरपश्चिम पोलिटेक्निक संस्थान स्थापना परियोजना’मा सम्झौता भएको छ । यो सन् २०२५ देखि सन् २०३० सम्म सन्चालन हुने छ ।

सन् १९९१ देखि दक्षिण कोरियाली सरकारले कोइका मार्फत नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । कोइकाले हालसम्म नेपालभरका सरकारी निकायहरूमा २ हजार ९२१ जना स्वयंसेवकहरू परिचालन गरेको छ भने २ हजार २३० जना नेपाली निजामती कर्मचारीहरूले कोइकाका क्षमता अभिवृद्धिका कार्यक्रमहरूमा भाग लिएका छन् ।

कोइकाले विभिन्न नागरिक समाज संस्था, विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्य गर्दै नेपाललाई दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउँदै आएको छ ।

सन् २०१० मा नेपाललाई कोइकाको प्राथमिकतामा राखेपछि दक्षिण कोरियाली सरकारको सहयोग उल्लेखनीय रूपमा बढेको छ । सन् २०२५ सम्म पुग्दा कोइकाको कुल सहयोग २० करोड अमेरिकी डलर नाघेको छ । यसलाई अझ सबल बनाउन विकास सहयोग सम्बन्धी रूपरेखा सम्झौता पनि भइरहेको छ, जसले नेपाल–कोरिया बीचको मित्रता अझ बलियो बनाउने विश्वास छ ।