तल्लो अप्सुवा आयोजनामा ८.८४ अर्ब लगानी स्वीकृत, पश्चिम सेतीमा पीडीएको मस्यौदा गर्न समिति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको बैठकले ५४ मेगावाट क्षमताको तल्लो अप्सुवा जलविद्युत परियोजनाका लागि ८ अर्ब ८४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

साथै, ८ सय मेगावाटको पश्चिम सेती जलविद्युत परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा तयारी एवं वित्तीय ढाँचा लगायतका विषयमा विकासकर्तासँग छलफल गरी बोर्डमा प्रस्ताव पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । 

सोही बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालन सम्बन्धी परियोजना तथा काठमाडौं-हेटौंडा-वीरगञ्ज पोडवे परियोजनाको सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्न र सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डका सिइओलाई अख्तियारी दिएको   छ । 

बैठकले माथिल्लो कर्णाली जलविद्युत परियोजना (९०० मेगावाट) को विद्युत प्रसारण लाइनको नयाँ रुट अलाइनमेन्टको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्नका लागि प्रवर्धक कम्पनी कर्णाली ट्रान्समिसन कम्पनी प्रालि (केटीअीपीएल)लाई सहमति प्रदान गरेको छ ।